भ्रष्टाचारविरुद्ध हाफ म्याराथन दौड

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल – भ्रष्टाचारविरुद्ध जनचेतना जगाउने उद्देश्यले बुटवलमा खुल्ला हाफ म्याराथुन दौड प्रतियोगिता सम्पन्न भएको छ । २५ औं विश्व आदिवासी जनजाति दिवसका अवसरमा आदिवासी जनजाति महासंघ रुपन्देहीले आयोजना गरेको प्रतियोगितामा एक सय ४५ जनाले सहभागिता जनाएका छन् । तिलोत्तमाको ड्राइभरटोलदेखि आदर्शनगरसम्म भएको दौडमा गोर्खा एकेडेमीका प्रशिक्षार्थी आदर्श परियारले २९ मिनेट ३० सेकेण्डमा दुरी पार गर्दै प्रथम भएका छन् । तिलोत्तमा १५ का किरण पुनले २९ मिनेट ५५ सेकेण्डमा दुरी पार गर्दै दोस्रो, गोर्खा एकेडेमीकै दुर्गाबहादुर गाहाले ३० मिनेट ५ सेकेण्डमा दुरी पार गरेर तेस्रो तथा गोर्खा एकेडेमीकै दीपक क्षेत्रीले ३० मिनेट १५ सेकेण्डमा निर्धारित दुरी पार गरी सान्त्वना भएका छन् ।

प्रतियोगिताको उद्घाटन इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराई र समापन आदिवासी जनजाति महासंघका सल्लाहकार शिवलाल तुलाचनको प्रमुख आतिथ्यतामा भएको थियो । सो अवसरमा बोल्दै आदिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष शंकर गाहाले नेपालमा अहिले हरेक क्षेत्रमा भ्रष्टाचार मौलाएको हुंदा यसविरुद्ध जागरण ल्याउन सरोकारवाला सबैको ध्यान जानुपर्ने बताए । महासंघका जिल्ला सचिव चित्रलाल तुलाचनको संयोजकत्व र सहसचिव इन्द्र राईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगिताका विजेतालाई साउन २४ गते हुने मूल समारोहमा नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ । ‘पहिचान, सह–अस्तित्व र अधिकार’ नारासहित २५औं विश्व आदिवासी दिवस अन्तर्गत महासंघले २२ गते रक्त सञ्चार केन्द्र बुटवलमा रक्तदान कार्यक्रम गर्दैछ भने दिवसको मुख्य दिन साउन २४ गते बुटवलमा बृहत ¥याली सहित सभाको आयोजना गरिने कार्यक्रम छ ।