बालिका बलात्कार गरी फरार अभियुक्त गुल्मीबाट पक्राउ

प्रकाशित मिति:

परासी – ११ वर्षकी बालिकालाई पटक–पटक जबर्जस्ती करणी गरी फरार रहेका थप एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम नवलपरासी प्रहरीले गुल्मीबाट ती अभियुक्तलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार गुल्मी जिल्लाको जुहाङ्ग खैरेनी गाउँपालिका–६ घर भई हाल सुनवल–४ नवलपरासी बस्ने ५५ वर्षीय शिव श्रेष्ठ पक्राउ परेका हुन् ।

उनलाई पश्चिम नवलपरासी प्रहरीले गुल्मीस्थित आफ्नै घरबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका श्रेष्ठलाई जबर्जस्ती करणीअन्तर्गतको मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको छ । यसअघि सोही घटनामा संलग्न सुनवल नगरपालिकाका ६० वर्षीय नारायण श्रेष्ठ र ४१ वर्षीय लोकबहादुर खत्री पक्राउ परेका थिए । बालिकाका आमाबुबा घरमा नभएको मौका छोपी उनीहरुले डेढ महीनादेखि ती बालिकालाई पटक–पटक जबर्जस्ती करणी गर्दै आएका थिए । -रासस