संसद सुचारु गर्न दलहरु सहमत, ७ सदस्यीय विशेष समिति गठन

प्रकाशित मिति:

काठमाडौं– संसद सुचारु गर्न दलहरु सहमत भएका छन् । सोमबार सभामुख कृष्णबहादुर महरासँगको सर्वदलीय छलफलमा दलहरु संसदको जारी गतिरोध अन्त्य गरि संसदलाई प्रभावकारी बनाउन सहमत भएका हुन् । फेरि यस्तो गतिरोधको अवस्था उत्पन्न नहोस् भन्नाका लागि संविधान, नियम र स्थापित परम्परा अनुसार आवश्यक अध्ययन गरी सुझाव दिन ७ सदस्यीय विशेष समिति गठन गर्ने सर्वदलीय बैठकमा सहमति भएको छ ।

विशेष समितिको संयोजक पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ रहनेछन् । समितिमा रहने सदस्यहरुको नाम सभामुखले बैठकमा पढेर सुनाउने सहमति भएको छ । यो सहतिसँग संसदमा देखिएको केही दिनदेखिको गतिरोध अन्त्य भएको छ । सर्लाही घटनाको छानवीनका लागि संसदीय समिति माग गर्दै प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले केहीदिन यताको बैठकमा नाराबाजी गर्दै आएका थिए ।