संसदबाट राजेन्द्र महतोको प्रश्न – मेरो नागरिकता खारेज भएको हो ?

प्रकाशित मिति:

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका सदस्य तथा सांसद राजेन्द्र महतोले सरकारबाट आफ्नो मानहानी भएको आरोप लगाएका छन् । सरकारले केही व्यक्तिको नागरिकता गरेको निर्णय सार्वजनिक भएको विषयमा सांसद महतोले आफ्नो मानहानी भएको आरोप लगाएका हुन् ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले आइतबार मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्दै ८ जनाको नागरिकता खारेज गर्ने निर्णय भएको जनाएका थिए । सरकारले नागरिकता खारेज गरेका व्यक्तिमध्ये ‘राजेन्द्र महतो’ भन्ने नाम गरेका व्यक्ति पनि थिए । सामाजिक सञ्जालमा राजपा नेता महतोको नागरिकता खारेज भएको भन्ने हल्ला पनि चलेको थियो ।

सोही विषयलाई लिएर राजपा नेता महतोले सोमबारको संसद बैठकमा सरकारको ध्यानाकर्षण गराउँदै भ्रमको खेती नगर्न पनि चेतावनी दिए । सञ्चारमाध्यमबाट आफ्नो नै नागरिकता खारेज भएजसरी समाचार सम्प्रेषण भएको उल्लेख गर्दै नेता महतोले सञ्चार माध्यमबाट पनि गैर जिम्मेवार काम भएको आरोप लगाए । नेता महतोले सरकारले आफूसँग माफी माग्नुपर्ने माग पनि अगाडि सारे ।