बिजेपीले भारतीय संविधानको हत्या गर्‍यो: कंग्रेस

प्रकाशित मिति:

नरेन्द्र मोदी सरकारले भारतीय राज्य जम्मु कस्मिरलाई दिइएको विशेष अधिकारको अन्त्य गर्ने प्रस्ताव संसदमा पेस गरेको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले सोमबार भारतको माथिल्लो सदन राज्य सभामा संविधानको धारा ३७० अन्त्य भएको घोषणा गरेका छन् साथै उनले जम्मु कस्मिरको पुनर्गठनको प्रस्ताव पनि संसदमा पेस गरेका छन्। पुनर्गठन प्रस्तावअनुसार लद्दाकलाई केन्द्रशासित बनाएको छ। त्यहाँ विधान सभा हुने छैन। त्यस्तै जम्मु कस्मिरमा पनि केन्द्र शासन लागू हुनेछ तर त्यहाँ विधान सभा रहिरहनेछ।

गृहमन्त्री शाहले यो प्रस्ताव ऐतिहासिक भएको बताएका छन्। अन्य थुप्रै भाजपा नेताले पनि प्रस्तावलाई मोदी सरकारको साहसिक कदम भन्दै तारिफ गरेका छन्। प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसले भने उक्त प्रस्ताव ल्याएर भाजपाले संविधानको हत्या गरेको बताएको छ। राज्यसभामा कंग्रेस नेता गुलाम नबी आजादले धारा ३७०को अन्त्य गरेर सत्तारूढ भारतीय जनता पार्टीले संविधानको हत्या गरेको बताए।

आइतबार रातिदेखि घरमै नजरबन्दमा रहेकी जम्मु कस्मिरकी पूर्वमुख्यमन्त्री महबुबा मुफ्तीले मोदी सरकारको आजको घोषणा भारतीय लोकतन्त्रको इतिहासमै सबैभन्दा कालो दिन भएको बताएकी छन्। उनले ट्वीटरमा लेखेकी छन्- धारा ३७० हटाउने भारत सरकारको फैसला गैरकानुनी र असंवैधानिक छ। यसबाट जम्मु कस्मिरमा खटिएका भारतीय सेना कब्जा गर्न आएका सेनाजस्ता भए।

धारा ३७० को अन्त्य गर्ने अघिल्लो दिनदेखि मोदी सरकारले जम्मु कस्मिरमा फोन र इन्टरनेट बन्द गरिदिएको छ भने राज्यका दुई पूर्वमुख्यमन्त्रीहरूलाई घरमै नजरबन्दमा राखेको छ। पूर्वमुख्यमन्त्रीहरू ओमार अब्दुल्लाह र मेहबुबा मुफ्तीलाई उनीहरूको घरमै आइतबार रातिदेखि नजरबन्दमा राखिएको छ। प्रमुख प्रतिपक्षी दल कंग्रेस आई र कम्युनिष्ट पार्टीका केही नेतालाई पनि गिरफ्तार गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। श्रीनगर जिल्लाभरिनै सेना र सुरक्षा फौजको गस्ती बढाइएको छ भने सबै शैक्षिक संस्थाहरु बन्द गरिएको छ। कस्मिरमा कर्फ्यू घोषणा नगरिए पनि कुनै पनि प्रकारको भेला तथा र्याली गर्न प्रतिबन्ध लगाइएको छ। केन्द्र सरकारले यस अघिनै कस्मिरमा रहेका पर्यटक र पाहुनाहरुलाई श्रीनगर छाडेर फर्किन सूचना जारी गरेको थियो। त्यस्तै अमरनाथ यात्रामा नजान तीर्थयात्रीलाई सुझाएको थियो। -एजेन्सी