विप्लव समूह रामेछापका इन्चार्ज सहित तीन जना काभ्रेमा पक्राउ

प्रकाशित मिति:

मधुसुधन तिमल्सिना/काभ्रे – प्रतिवन्धित नेकपा माओवादी विप्लव समूह रामेछाप जिल्लाका इन्चार्ज सहित अन्य दुई जनालाई जिल्ला प्रहरी कार्यालय काभे्रले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) जयराज सापकोटाले विप्लवका रामेछाप इन्चार्ज यादव ढुङ्गेल, काभे्र जिल्ला सदस्यद्वय सुन्दर रायमाझी र अनिल रायमाझीलाई पक्राउ गरेको जानकारी दिनुभयो ।  उहाँका अनुसार आइतबार बेलुका धुलिखेलबाट रामेछाप इन्चार्ज ढुङ्गेल पक्राउ परेका थिए भने जिल्ला सदस्य रायमाझीद्धय शुक्रबार राती बनेपाबाट पक्राउ परेका थिए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले विप्लब समुहका नेता कार्यकर्ता पक्राउ अभियान शुरु गरेको छ । जिल्लामा शशस्त्र प्रहरी बलको कार्यालय समेत स्थापना भए पछि जिल्लामा जनपथ र सशस्त्र प्रहरीले विप्लब माओवादीका नेता कार्यकर्ताहरूको खोजीलाई तीब्र बनाएको हो ।
रामेछापका इन्चार्ज यादव ढुङ्गेलले भुम्लु गाउँपालिकामा रहेको एनसेल टावरमा आगजनी तथा क्षति पु¥याएको आरोपमा र अन्य दुई जनालाई २०७६ बैशाख ५ गते पनौतीमा विस्फोटक पदार्थ सडकमा राखी सर्वसाधारणलाई त्रसित बनाएको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।