दुखद खबर पत्रकार सालिकराम पुडासैनी मृत फेला

प्रकाशित मिति:

चितवन- पत्रकार सालिकराम पुडासैनी चितवनमा मृत अवस्थामा फेला परेका छन् । चितवनको पोखरा जाने बसपार्कस्थित कंगारु होटेलमा झुण्डिएको अवस्थामा मृत फेला परेको एसपी दान बहादुर मल्लले जानकारी दिनुभयो ।एसपी मल्लको अनुसार सोमबार दिउँसो करिब ३ बजे काठमाडौंबाट आएका पुडासैनी सो होटलको २०२ नं कोठामा बास बसेका थिए । साँझको खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र उनी नबोले पछि राती १० बजे प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी कोठाको पंखामा झुण्डिएको अवस्थामा फेला परेको एसपी मल्लले जानकारी दिनुभयो । एसपी मल्लको अनुसार उनको साथमा माउन्टेन टेलिभिजनको परिचय पत्र पनि भेटिएको छ ।नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २ घर भएका पत्रकार पुडासैनी हालै मात्र माउण्टेन टिभीमा प्रवेश गरेका थिए । उनले मिसन न्यूज कार्यक्रम चलाउँदै आएका थिए ।यसअघि पुडासैनी न्यूज–२४ को सिधा कुरा जनतासँग कार्यक्रममा समेत काम गरेका थिए । उनका आफन्त आएपछि घटनाबारे थप अनुसन्धान हुने चितवन प्रहरीले जनाएको छ ।