कक्षा–९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन

प्रकाशित मिति:

काठमाडौं – आगामी शैक्षिकसत्रदेखि कक्षा–९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ । समय, परिस्थितिअनुसार प्रत्येक पाँच/पाँच वर्षमा पाठ्यक्रम परिमार्जन गर्ने नियमानुसार पाठ्यक्रम परिमार्जन गर्न थालिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले जानकारी दिए ।

नयाँ पाठ्यक्रमअनुसार अब कक्षा–११ र १२ मा थप दुई विषय पढ्नुपर्ने हुन्छ ।उनकाअनुसार जीवन उपयोगी सीप र सामाजिक अध्ययन ५०/५० पूर्णांकको पढ्नुपर्ने हुन्छ । जीवन उपयोगी सीपले विद्यार्थीलाई व्यवसाय गर्नका लागि सिकाउँछ भने सामाजिक अध्ययनले नेपालको बारेमा विद्यार्थीलाई बुझ्न सहयोग मिल्दछ । नयाँ पाठ्यक्रमअनुसार नेपाली ५० र अंग्रेजी भने १०० पूर्णांकको हुनेछ । सूचना अधिकारीसमेत रहेका भट्टराईले कक्षा–९ र १० का विषयसँग पनि मिल्नेगरी पाठ्यक्रम परिमार्जन गर्न थालिएको जानकारी गराए ।यसअघि, वि.सं. २०६४ मा पाठ्यक्रम परिमार्जन भएको थियो । उनकाअनुसार ४० ओटा विषयको परिमार्जन गरिसकिएको छ भने ३७ ओटा विषयको परिमार्जनकोक्रममा रहेका छन् । ‘हामीले पहिले सबैभन्दा बढी विद्यार्थी हुने विषयको पाठ्यक्रम परिमार्जन गरिरहेका छौं’–उनले भने–‘पछि कम विद्यार्थी हुने विषय परिमार्जन गर्नेछौं ।’

कक्षा–११ र १२ मा १५६ ओटा विषय रहेका छन् । यसअघि, कक्षा–११ र १२ को विषयको उच्च माध्यमिक शिक्षा परिषद्ले परिमार्जन गरेपनि कक्षा–१२ सम्म माध्यमिक तह मानेकाले केन्द्रले पहिलोपटक पाठ्यक्रम परिमार्जन गरेको हो । कक्षा–९ र १० को भने केन्द्रले ऐच्छिक विषयकोमात्र पाठ्यक्रम परिमार्जन गर्न थालेको हो । कक्षा–९ का इतिहास, भूगोल, नागरिक शासन, अर्थशास्त्र, समाजशास्त्र, जनसंख्या, वातावरण विज्ञान, कृषि, शिक्षा, कम्प्युटर, लेखापरीक्षण, फोटोग्राफी, स्वास्थ्य शारीरिक, ग्रामीण विकास विषयको परिमार्जन गर्न थालिएको केन्द्रका निर्देशक भट्टराईले बताए ।अतिरिक्त गणितको भने पाठ्यक्रम परिमार्जन गरिसकेको छ । नयाँ पाठ्यक्रममा २५ अथवा ५० पूर्णांक प्रयोगात्मक राखिएको छ । स्थानीय तहले स्थानीय परिवेशअनुसार एकओटा विषय अतिरिक्त पढाउन सक्नेछन् ।स्थानीय तहले तयार पारेको पाठ्यक्रम विकास केन्द्रसँगको सहकार्यमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग स्वीकृत गराउनुपर्ने हुन्छ । – इमेजखबर