वडा अध्यक्ष डिभी परेर अमेरिका, उपनिर्वाचन गराउन स्थानीयको निवेदन

प्रकाशित मिति:

हेटौंडा – मकवानपुरको भीमफेदी गाउँपालिका ८ का स्थानीयले उपनिर्वाचन गर्न भन्दै सोमबार जिल्ला निर्वाचन आयोग कार्यालयमा निबेदन दर्ता गराएका छन् । वडा अध्यक्ष जगत्मान घिसिङ डीभी परेर परिवारसहित अमेरिका गएपछि रिक्त वडा अध्यक्षमा उपनिर्वाचन गराउन निबेदन दिइएको हो । इपापञ्चकन्याका स्थानीयले संयुक्तरुपमा वडा अध्यक्षको उपनिर्वाचन गराउन माग गर्दै निर्वाचन कार्यालय मकवानपुर र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा निबेदन दर्ता गराएका हुन् ।

वडा सदस्य नवराज अधिकारीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएर २०७५ चैत २७ गते वडा अध्यक्ष घिसिङ परिवारसहित अमेरिका उडेपछि स्थानीयको कामकारबाहीमा प्रभाव परेको भन्दै स्थानीयले उपनिर्वाचन गराउन निबेदन दिएका हुन् । एमालेबाट उठ्नुभएका घिसिङले ५ सय १४ मत ल्याएर जित्नुभएको थियो । उहाँका प्रतिस्पर्धीहरु राप्रपाका सुन्दर कुँवरले २ सय २३ र नेपाली कांग्रेसका दीपेशकुमार विश्वकर्माले १ सय ९१ मत ल्याउनुभएको बताइएको छ ।

जनप्रतिनिधिहरु केही समयका लागि भ्रमणमा जान मिले पनि लामो समयसम्म जनताको कामकारबाहीमा असर पर्ने गरी विदेशमा काम गरेर बस्न नमिल्ने कानुन व्यवसायीले बताएका छन् । ५ वर्षसम्म जनताको काम गर्न चुनिएका जनप्रतिनिधि डीभी परेर परिवारसहित विदेशमा रही काम गरिरहेको अवस्थामा स्वतः उपनिर्वाचन गराउन निर्वाचन कार्यालय लाग्नुपर्ने स्थानीयको दाबी छ । -न्युजअफनेपाल