आदिवासी दिवसमा वृहत रक्तदान

२२ श्रावण २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
34 Shares


बुटवल –२५ औं विश्व आदिवासी जनजाति दिवसका अवसरमा मंगलबार वृहत रक्तदान सम्पन्न भएको छ । रक्त संचार सेवा केन्द्र बुटवलमा भएको कार्यक्रममा प्रदेश ५ की प्रदेश सभा सदस्य पुष्पा थरुनी चौधरी लगायत ९० जनाले रक्तदान गरेका छन् । सो अवसरमा बोल्दै सांसद चौधरीले रक्तदान जस्तो ठूलो मानवीय सेवा अरु हुन नसक्ने बताइन् । उनले आदिवासी जनजातिका हक अधिकार प्राप्तिका लागि एकतावद्ध हुन जरुरी रहेकोमा समेत जोड दिइन् ।

आदिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष शंकर गाहाको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन र सञ्चालन महासंघका सहसचिव इन्द्र राईले गरेका थिए । ‘पहिचान, सह–अस्तित्व र अधिकार’ नारासहित आदिवासी जनजाति महासंघ रुपन्देहीले साताव्यापीरुपमा मनाएको दिवसको मूल समारोह साउन २४ गते बुटवल मण्डपमा हुंदैछ । मूल समरोहलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रतिनिधि सभाका मुख्य सचेतक बालकृष्ण खांण लगायतका नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

समारोहलाई कांग्रेस नेता खांणसंगै नेकपा सांसद तुलाराम घर्तीमगर (बसन्त), राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव टोप अस्लामी,बुटवल उपमहानगरपालिका प्रमुख शिव सुवेदी,नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष जगत बराम, काउनका केन्द्रीय अध्यक्ष जेबी गुरुङ, आदिवासी जनजाति युवा महासंघ प्रदेश ५ अध्यक्ष दीपक गुरुङ, सन्जोक लाफा लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको महासंघ रुपन्देहीका अध्यक्ष शंकर गाहाले जानकारी दिए । मूल समारोह हुने दिन बिहान बुटवल वहुमुखी क्याम्पसबाट विभिन्न जनजातिका झांकीसहित ¥याली शुरु भई बुटवल मण्डपमा पुगेर सभामा परिणत हुने छ । मूल समारोहमा आदिवासी दिवसमा अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कृत गर्ने लगायतका कार्यक्रम रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया