सरकार सही दिशामा छ,गति मात्र कम हो : मन्त्री भट्टराई

२३ श्रावण २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
59 Shares


सबलपोष्ट । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षमा २० लाख नभई ५० लाख पर्यटन भित्राउन सकिने बताएका छन् । विदेशमा ५० लाख नेपाली रहेका उल्लेख गर्दै उनले विदेशमा बसेका हरेक नेपालीले एक–एक जनाका दरले पर्यटक पठाए ५० लाख पर्यटक भित्रिन सक्ने बताए । लुम्बिनी विकास कोषको विशेष वैठकमा सहभागी हुन लुम्बिनी जाने क्रममा प्रेस संगठन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा नवनियुक्त मन्त्री भट्टराईले विदेशमा बसेर सरकारको आलोचना गर्नुको साटो एकएक जना पर्यटक नेपाल पठाउने काम गर्न आग्रह गरे ।

‘सरकारले यो गरेर ऊ गरेन भनेर फेसबुकमा जथाभावी लेखेर हुन्छ’–मन्त्री भट्टराईले भने–‘कसैले १० जनासम्म पर्यटक पठाउंछन् भने सरकारले उनीहरुलाई के सुविधा वा सहयोग गर्नुपर्छ, हामी घोषणा गर्छौं ।’ मन्त्री भट्टराईले प्रधानमन्त्रीले आफूलाई मन्त्री नियुक्त गर्दा गौतमबुद्ध विमानस्थललाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएको स्मरण गर्दै आउंदो डिसेम्बर अन्त्यसम्म विमानस्थल सञ्चालनमा आउने बताए । आफूले हरेक रात डिसेम्बर ३० को सपना देख्ने गरेको भन्दै उनले कतिपयले विमानस्थल संचालनको मिति सार्ने कुरा गरेपनि आफूले नमानेको दावी गरे । निजगढ विमानस्थल २०१९ को अन्त्यसम्म शिलान्यास हुने दावी गर्दै उनले शिलान्यासमा देशभरबाट दशौं लाख जनता उतार्ने दावी गरे । ‘निजगढको जंगलभरि लाखौं मान्छे भरेर शिलान्यास गर्छांैं–मन्त्री भट्टराईले भने । सरकारले केही गरेन भन्ने चर्चा हुने गरेपनि सरकार सही दिशामा रहेको तर गति मात्र कम भएको उनले तर्क गरे । आउंदो चुनावसम्म पार्टी घाोषणापत्रका अधिकांश प्रतिवद्धता पूरा गर्ने उनको दावी थियो । जनताको अहिलेको विश्वासलाई बचाउन सके पचासौं वर्ष सरकारमा रहने उनले बताए । लुम्बिनी विकास कोषको सदस्य सचिवको टुंगो छिटै लाग्ने उल्लेख गर्दै उनले वृहत्तर लुम्बिनी गुुरुयोजना पनि बनाइने बताए । वाइडबडी जहाज खरिदमा भएको अनियमितताबारे अख्तियारले छानवीन गरिरहेको र संसदीय समितिको निर्देशनप्रति सरकार जवाफदेही रहेको मन्त्री भट्टराईले दावी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया