दाहसंस्कार गरेको भोलिपल्ट जीवितै भेटिएपछि भयो यस्तो ….

प्रकाशित मिति:

अर्घाखाँची – अर्घाखाँचीमा मृत्यु भएको भनिएका व्यक्ति घरमा आएपछि परिवार तथा आफन्त नै आश्चर्यमा परेका छन् ।अर्घाखाँचीको सितगंगा नगरपालिका–२ मन्द्रे काठेपिपल निवासी ३४ वर्षीय कर्णबहादुर चुंदारा मृत्यु भएको भनेर परिवार र छिमेकीले दाहसंस्कार गरेपछि घर फर्किएका छन् । घरपरिवारमा समेत कम बोल्ने चुंदारा ८ साउनमा एकाएक घरबाट हराएका थिए । छोरा हराएपछि उनका बुवा धनबहादुरले टोल छिमेक र प्रहरीमा छोरो हराएको भन्दै खोजी शुरु गरे ।

खोजी भइरहेकै बेला १५ साउनमा स्थानीयले खोलामा ढुंगामा अड्किएको अवस्थामा एउटा पुरुषको शव फेला पारे । १५ साउनमा सितगंगा १४ सिमरेनीस्थित बाणगंगा नदीमा ढुंगाको कापमा खुट्टा मात्र बाहिर देखिएको अवस्थामा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरे । खोलाको पानीमा डुबेको र ढुंगामा च्यापिएको अवस्थामा फेला परेको शव सडेको कारण पहिचान हुन गाह्रो थियो । तर, कर्णबहादुरका बुवा धनबहादुरले शवको हात खुट्टाका औंला, नङ र उचाई मिलेको भन्दै उक्त शव आफ्नै माईलो छोरा कर्णबहादुरका भएको दाबी गरेपछि प्रहरीले सोहि अनुसार मुचुल्का उठायो ।

मुचुल्कापछि पोष्टमार्टम समेत गरी परिवार र आफन्तले दाहसंस्कार सो शव दाहसंस्कार गरे। तर लगत्तै खबर आयो– कर्णबहादुर जिउँदै छन्। घरमा कर्णबहादुरको मृत्यु भएको भनी शव बुझेर दाहसंस्कार गर्दा उनका जेठा दाजु ओमबहादुर चुंदारा र आमा रिमाकला बिक भारतको हरियाणामा थिए । उनीहरूले पनि कर्णबहादुरको मृत्युको खबर पाए। खबर सुनेर दुखित भए। तर दाहसंस्कार गरिएको भोलिपल्ट कर्णबहादुर दाजु र आमा भएको हरियाणामा पुगे। त्यहाँ पुगेपछि उनी जीवितै रहेको खुल्यो । यसरी ‘मृत्यु भयो’ भनि दाहसंस्कार समेत गरिएको व्यक्ति जीवित रहेको खबर आएपछि उनलाई भारतबाट घरमा झिकाएर जीवित रहेको पक्का गरिएको छिमेकी रामप्रसाद भट्टराईले बताए । दाहसंस्कार गरेको शव कसको हो भन्नेबारे भने खुलेको छैन ।