झरी नपर्दा ‘आमा’ छायांकन अस्तव्यस्त

प्रकाशित मिति:

काठमाडौँ –असार र साउन पानी पर्ने महिना हो । यो महिनामा कृषकहरुले वर्षभरिको लागि पुग्ने अन्न उब्जाउन दुःख गर्ने गर्दछन् । तर, फिल्म छायांकनका लागि यो महिना उपयुक्त मानिँदैन । पानीले छायांकन हुन दिँदैन, जसले गर्दा निर्माण लागत निकै बढ्छ । यसकारण सकभर निर्माता तथा निर्देशक असार र साउनमा फिल्मको छायांकन गर्दैनन् । तर, ‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के। खनाललाई भने दर्के झरी नपरेर समस्या भएको छ ।

अहिले उनी ड्रिम प्रोजेक्ट ‘आमा’ मा व्यस्त छन् । यो फिल्मको ६५ प्रतिशत छायांकन पूरा भइसकेको छ । तर, बाँकी ३५ प्रतिशत दृश्यमा पानी चाहिन्छ । कृतिम पानी झारेर निर्देशक खनाल झरो टार्ने पक्षमा छैनन् । ‘आमा’ को छायाँकार समेत रहेका उनी झमझम परेको पानीमै फिल्म खिच्न चाहन्छन् । तर, मौसमले साथ दिएको छैन । दैनिक कलाकार र प्राविधिकसहित पानी कुरेर बस्ने गरेको निर्देशक खनाल बताउँछन् । पानी नपर्दा फिल्मको बजेट निकै बढेको उनले बताए । ‘हामीलाई सानो पानी परेर मात्र हुँदैन । ठूलै झरी नै पर्नुपर्छ । तर, यसपटक पानी नपर्दा गाह्रो भयो । पानी पर्छ भनेर साउनमै छायांकन राखेको, झन् पानी नै परिदिएन’, उनले भने । शर्मिला पाण्डेको लगानीमा बन्ने फिल्मको छायांकन असारको १६ गतेबाट सुरु भएको हो । तर, पानी नपर्दा फिल्मको छायांकन अस्तव्यस्त भएको छ । फिल्ममा मिथिला शर्मा र सुरक्षा पन्त आमा(छोरीको भूमिकामा छन् ।

दीपेन्द्रले दैनिक २ लाखभन्दा बढी खर्च भएपनि काम हुन नसकेको बताए । उनी निराश हुँदै भन्छन्, ‘खै म त के गरुँ गरुँ निर्णय नै गर्न सकेको छैन । अब, सबै दृश्यमा पानी चाहिन्छ । तर, मौसमले साथ दिएनँ ।’ डीएस डिजिटलको ब्यानरमा बनिरहेको यो फिल्म आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउँदैछ । निर्देशक खनालले ‘पशुपति प्रसाद’ पछि दर्शकले अर्को मनछुने कथामा ‘आमा’ हेर्न पाउने दाबी गर्दै आएका छन् ।