मन्त्री राईद्धारा दस हजार बिरुवा रोप्ने कार्यको शुभारम्भ

प्रकाशित मिति:

नेपालगञ्ज  – नेपाल सरकारका सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले नेपालगञ्जमा दस हजार विरुवा रोप्ने अभियानको आइतबार यहाँ शुभारम्भ गर्नु भएको छ । यहाँस्थित नेपाल भारत सीमाना नजिक जमुनाहा चोकमा आइतवार विहान मन्त्री राईले गुलमोहरको विरुवा रोपेर सो अभियानको शुभारम्भ गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले दुई महिनाभित्र नेपालगञ्ज उपमहानगर भित्र दस हजार ठुला विरुवाहरु रोपेर सक्ने बताउनुभयो । उहाँले पहिलो चरणमा आइतवार मात्रै नगरका विभिन्न सडक र टोलहरुमा करिब दुई सय विरुवाहरु रोपिने बताउनु भयो । त्यसपछि क्रमशः सबै तिर रोपिंदै जाने योजना रहेको उहाँले बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिका र सबै वडा समितिहरुले बिरुवाको संरक्षण र हेरचाह गर्ने वचन दिएपछि मा बृक्षरोपण शुरु गरिएकोले सरंक्षणमा कुनै समस्या नहुने उहाँले बताउनुभयो ।

नेपालगञ्जबाट बिरुवा रोप्ने अभियान शुरु गर्ने बारे प्रधानमन्त्री र वनमन्त्रीलाई जानकारी गराउँदा सो अभियान देशभरी शुरु गर्ने प्रधानमन्त्रीले निर्देशन दिनु भएको उहाँले बताउनुभयो । आइतवार भेरी प्राविधक शिक्षालय नजिक, वडा नम्बर १ र राँझामा समेत बिरुवाहरु रोपिएका छन् । सो अवसरमा बोल्दै नेपालगञ्ज उपमहानगरका मेयर डा. धवल शमसेर राणाले बृक्षरोपण अभियानलाई उपमहानगरले पूर्ण सहयोग गरिरहेको र बिरुवाको संरक्षण गर्ने प्रतिवद्धता जनाउनुभयो । मन्त्री राईले दुई महिना अघि नेपालगञ्जमा दस हजार विरुवा रोपिने घोषणा गरेर त्यसको तयारीमा जुट्नु भएको थियो । सहरीकरणका क्रममा हरियो रुख विरुवा घट्दै जाँदा गर्मी अत्याधिक बढ्दै गएकोले नेपालगञ्जमा १० हजार विरुवा रोप्ने योजना मन्त्री राईले बनाउनु भएको थियो ।

देशकै सबैभन्दा धेरै गर्मी हुने सहरका रुपमा रहेको नेपालगञ्जमा हरियो रुख विरुवा नहुँदा गर्मी अत्याधिक हुने गरेको ठहर गर्दै त्यसको एउटा विकल्पका रुपमा सहरमा पहिलो चरणमा दस हजार रुखका विरुवा रोपिन थालिएको हो । बिरुवा लगाउँदा ठुलो हुन समय लाग्ने भएकाले ठुला विरुवालाई उच्च प्रविधिको प्रयोग गरेर बृक्षारोपण शुरु गरिएको हो । – गोरखापत्र