उपनिर्वाचन ‘सक्रिय बहिस्कार’ गर्ने वैद्य माओवादीको घोषणा , हेर्नुहोस् प्रेस-बिज्ञप्ती

प्रकाशित मिति:

काठमाडौं– मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले आगामी मंसिरका लागि तय गरिएको उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । मंसिर १४ गतेका लागि तोकिएको स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाका उपनिर्वाचनहरुको वैद्य माओवादीले ‘सक्रिय बहिष्कार’ गर्ने निर्णय गरेको हो । यही साउन २१ देखि २३ सम्म राजधानीमा बसेको उक्त पार्टीको पोलिटब्युरो बैठकको निर्णयबारे महासचिव वैद्यले जारी गरेको प्रेस विज्ञप्तिमा सत्ता तथा व्यवस्था बदनाम हुँदै गएको वर्तमान अवस्थामा निर्वाचनको उपयोग गरेरभन्दा बहिस्कार गरेर संसदवादको भण्डाफोर गर्नु उपयुक्त हुने भएकाले उक्त उपनिर्वाचन ‘सक्रिय बहिस्कार’ गर्ने निर्णय लिइएको उल्लेख छ ।

मंसिर १४ मा प्रतिनिधिसभातर्फ २, प्रदेशसभातर्फ बागलुङ २ (२), भक्तपुर १ (१) र दाङको ३ (२) निर्वाचन क्षेत्रमा उपनिवार्चन हुँदैछ । यस्तै ४२ स्थानीय तहमा पनि उपनिर्वाचन हुने छ । यसैगरी, हालै भारतले लिएको जम्मु–कश्मीरसम्बन्धी निर्णयको पनि वैद्य माओवादीले विरोध गरेको छ ।विज्ञप्तिमा भनिएको छ – ‘ब्रिटिस सरकारको प्रत्यक्ष उपनिवेशबाट मुक्त हुने सन्दर्भमा भारत र पाकिस्तानका बीचमा समेत विवादित रहँदै आएको जम्मू–कश्मीरको समस्या समाधान गर्ने प्रक्रियामा त्यहाँका जनतालाई विशेषाधिकार दिने गरी भारतको संविधानमा धारा ३७० र ३५ (ए) को व्यवस्था गरेर जम्मू–कश्मीरलाई भारतमा सामेल गराइएको थियो । वर्तमान भारत सरकारले हालै धारा ३७० र ३५ (ए) लाई खारेज गर्नुका साथै जम्मू–कश्मीरबाट लद्दाखलाई अलग गराउने जुन निर्णय गरेको छ, त्यसबाट त्यहाँका जनताप्रति गम्भीर विश्वासघात हुन गएको छ । हाम्रो पार्टी भारत सरकारको उक्त नीति र निर्णयको दृढ विरोध गर्दछ ।’ यस्तै वैद्य माओवादीले अमेरिकाद्वारा हिन्द प्रशान्त सैन्य साझेदारीको रणनीति अगाडि ल्याइएको स्थितिमा नेपाल सरकार त्यसमा सामेल हुन खोज्नु र अमेरिकाले नेपाललाई दिइने मिलेनियम च्यालेन्ज कम्प्याक्ट अनुदान अन्तर्गत ५० करोड अमेरिकी डलर लिने सरकारको निर्णयप्रति पनि विरोध गरेको छ । हेर्नुहोस् प्रेसवक्तव्य