प्रदेश पाँचमै एकीकृत सहरी विकास योजना बनाउने तिलोत्तमा पहिलो, सडक मुख्य प्राथमिकतामा

प्रकाशित मिति:

आर्थिक विकासको माध्यमबाट रोजगारी सिर्जना गरी आयआर्जन वृद्धि गर्ने र नगरबासीलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित तिलोत्तमा नगरपालिकाको एकीकृत सहरी विकास योजना तयार भएको छ । आगामी १५ वर्षको विकासको लक्ष्य निर्धारण गरेको यो योजना आइतबार सार्वजनिक गरिएको छ ।  सिद्धार्थ इन्स्टिच्यूट अफ रिसर्च एण्ड कन्सल्टेन्सी सर्भिस प्रा.लि. ले तर्जुमा गरेको एकीकृत सहरी विकास योजना प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । योजना सार्वजनिक गर्नुअघि कन्सल्टेन्सीका अध्यक्ष लिलाबहादुर केसीले तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेलाई योजना हस्तान्तरण गरेका थिए ।

योजनाबारे जानकारी दिंदै कन्सल्टेन्सीका सदस्य चिरन्जीवी पौडेलले एकीकृत सहरी विकास योजना तर्जुमा गर्दा आगामी १५ वर्षको भिजन तय गरिएको बताए । त्यसैगरी आर्थिक वर्ष ०७५÷७६ देखि ०८०÷८१ क लागि योजना, लक्ष्य, रणनीति, आवश्यक बजेट र कार्यान्वयनको ढाँचा प्रस्तुत गरिएको छ । उक्त योजनाले आगामी पाँचवर्षमा नगरको आर्थिक वृद्धिदर १०.३ प्रतिशत हुने र १५ वर्षमा साढे १० प्रतिशत हुने लक्ष्य निर्धारण गरेको छ । अहिले तिलोत्तमा नगरको आर्थिक वृद्धिदर ६.८ प्रतिशत छ । त्यस्तै हाल एकहजार ४७ अमेरिकी डलर प्रतिव्यक्ति आय रहेकोमा पाँचवर्षमा एकहजार ५ सय ९५ र १५ वर्षमा १० हजार पु¥याउने लक्ष्य निर्धारण गरिएको छ ।
त्यसैगरी हाल १८.७ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनी रहेकोमा पाँच वर्षमा १० प्रतिशत र १५ वर्षमा शुन्यमा झार्ने रणनीति तय गरिएको छ । त्यस्तै हाल ९० प्रतिशत रहेको साक्षरता प्रतिशत पाँच वर्षमा ९५ प्रतिशत र १५ वर्षमा शत प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ भने हाल ३.११ प््रतिशत रहेको उच्च शिक्षामा पहुँचको अवस्था आगामी पाँच वर्षमा ६.१ प््रतिशत र १५ वर्षमा १२ प्रतिशत पु¥याइने उल्लेख छ । सहरी विकास योजनाले सडकलाई मुख्य प्राथमिकतामा राखेको छ ।
आगामी १५ वर्षका लागि सडक निर्माणतर्फ १६ अर्व एक करोड ६० लाख खर्च हुने योजनाले अनुमान गरेको छ । यसमा ९९ किलोमिटर सडक थप हुनेछ । त्यस्तै तिलोत्तमा रिङरोड, मेगासिटी, तिनाउ कोरिडोर र रोहिणी कोरिडोरसहितको रिङरोड निर्माण गर्ने लक्ष्य पनि लिइएको छ । योजना अनुसार प्रादेशिक बसपार्क, औद्योगिक ग्राम, राष्ट्रिय रंगशाला, फोहर व्यवस्थापन केन्द्र, अटो भिलेज जस्ता विषयलाई पनि प्राथमिकतामा परेका छन् । तिलोत्तमा नगरले परिकल्पना गरेको ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमाको नारालाई सार्थक बनाउने गरी नै योजना तर्जुमा गरिएको कन्सल्टेन्सीका अध्यक्ष केसीले बताए । योजनाले कृषि, उद्योग, पर्यटन र व्यापारलाई पनि प्राथमिकतामा राखेको छ भने हाल १२ प्रतिशत रहेको वन क्षेत्र पाँच वर्षमा १५ प्रतिशत पु¥याउनुपर्ने उल्लेख छ ।  योजना सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले प्रदेशका १०९ वटै पालिकाहरुलाई योजनाबद्ध विकासका लागि प्रदेश सरकारले आह्वान गरेको भन्दै तिलोत्तमा नगरले योजना निर्माणमा अरु पालिकालाई उछिनेको बताए ।

पर्यटनमन्त्री लिला गिरीले योजनाले सडकलाई मुख्य प्राथमिकतामा राखेकाले सडक निर्माणमा कसैले संकीर्ण सोंच राख्न नहुने र यसका लागि सबै नगरबासीको साथ अपरिहार्य रहेको बताए । प्रदेश सांसद दधिराम न्यौपानेले एकीकृत सहरी विकास योजनाले विकासको मार्गदर्शन तय गरकाले यसलाई कार्यान्वयन गरेर अघि बढ्न आग्रह गरे ।  प्रदेश योजना आयोगका उपाध्यक्ष डा. इशवर गौतमले योजनाबद्ध विकासले मात्रै लक्ष्य हासिल गर्न सकिने उल्लेख गर्दै तिलोत्तमा नगरपालिकाले सार्वजनिक गरेको एकीकृत सहरी विकास योजना नगर विकासका लागि कोसेढुंगा हुने विश्वास व्यक्त गरे । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले मुलुककै नमुना नगर बनाउने उद्देश्यका साथ नगरपालिका अगाडि बढेको भन्दै एकीकृत सहरी विकास योजना प्रभावकारी ढंगले कार्यान्वयन गरिने बताए । नेकपाका तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईंले १५ वर्षे दीर्घकालीन योजनाले बोकेका लक्ष्य पूरा भए नगरले समृद्धि हासिल गर्ने बताए ।