पुष्पा क्षेत्री पुगिन् छमछमीको टप ११ मा

प्रकाशित मिति:

सबलपोष्ट । राष्ट्रियस्तरको नृत्य प्रतियोगिता ‘छमछमी’–४ को टप ११ जनामा बुटवलकी पुष्पा घिमिरे क्षेत्री पुग्न सफल भएकी छन् । भोटिङ राउण्डको प्रतिस्पर्धामा रहेका १२ जना मध्ये वीरगंजका राजन देवान दर्शकबाट सबैभन्दा कम भोट पाएर शनिबार प्रतियोगिताबाट बाहिरिएसंगै पुष्पासहितका ११ जना अघिल्लो चरणका लागि सुरक्षित भएका हुन् । प्रतियोगितामा काठमाडौंका सुदन खड्का, कोहलपुरकी गंगा केसी, महोत्तरीका नेजिन सुस्लिङ मगर,दाङका आकाश विके, कोहलपुरका श्रीयम रावल, धनगढीका थम्मन टाडी,पोखराकी सपना थापा,हेटौंडाकी सन्ध्या आचार्य,झापाकी दिलमाया लिम्बु र बिरगंजका अनिश सिंह उपाधिका लागि प्रतिस्पर्धामा छन् ।
नेपाल टेलिभिजनमा हरेक शनिबार राति ९ बजेदेखि प्रशारण शुरु हुने ‘छमछमी’ कार्यक्रमका प्रतियोगीलाई कार्यक्रम सकिएपछि सोही राति १० बजेदेखि बिहीबार बिहान १० बजेसम्म भोटिङ गर्न सकिने नियम छ । दर्शकबाट सबैभन्दा कम भोट पाउने प्रतियोगी बाहिरिंदै जांदा सबै भन्दा बढी भोट पाउने नै विजेता बन्ने नियम छ । प्रतियोगितामा ६० प्रतिशत अंक निर्णायकको र ४० प्रतिशत अंक भोटिङका आधारमा जोडिने नियम छ ।

शनिबार सार्वजनिक भएको एसएमएस भोटिङ नतिजामा पुष्पाले दर्शकबाट सर्वाधिक भोट पाएको पुष्पा जिताऔं अभियानका प्रचारप्रसार संयोजक नारायण सारुले दावी गरे । पुष्पा बुटवल वडा नंं ११ सिरानगाउं मजुवाकी बासिन्दा हुन् । घरको आर्थिक अवस्था कमजोर रहेकी पुष्पालाई जिताउन उनका साथीभाइ, छिमेकी र देश विदेशका शुभेच्छुकहरु लागिपरेका छन् । नृत्य प्रतिभा एकदमै राम्रो हुंदाहुंदै पनि घरको कमजोर आर्थिक अवस्थाले अघि बढ्न बाधा–अवरोध भएकाले छमछमीमा जिताउन उनका शुभेच्छुकहरुले प्रचारप्रसार र आर्थिक संकलन अभियान संचालन गरेको पुष्पाकी फुपु सीता पौडेलले बताइन् । कक्षा ५देखि नै नृत्य प्रतियोगिताहरुमा भाग लिंदै उत्कृष्ट नृत्य प्रस्तुत गर्दै आएकी पुष्पा लगनशील र संघर्षशील प्रतिभा हुन् । सरकारी विद्यालय बुटवल माविबाट कक्षा १० र सामुदायिक क्याम्पस सिद्धार्थ गौतम क्याम्पसबाट १२ कक्षा उत्तिर्ण गरेकी पुष्पा स्थानीय एक कला केन्द्रमा नृत्य प्रशिक्षकको रुपमा काम गर्दै आएकी छन् । ‘पुष्पाले नृत्यमा केही गरेर देखाउन चाहन्छिन्,त्यसका लागि उनलाई सबैको भोटिङ र साथको खांचो छ’–पुष्पाकी फुपु सीता पौडेलले भनिन् । पुष्पालाई जिताउन चाहनेले मोबाइलको म्यासेज बक्समा गई अंग्रेजी अक्षर सी सी टाइप गरी स्पेस शुन्य ६ टाइप गरी ३१००९ मा पठाउनुपर्ने पुष्पा जिताऔं अभियानका प्रचारप्रसार संयोजक नारायण सारुले बताए ।