बजारको आधा सुन तस्कर मार्फत आपूर्ति

प्रकाशित मिति:

काठमाडौं – गृह मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रगति विवरणमा सुन तस्करीको अन्तर्राष्ट्रिय सञ्जाल तोड्न सफल भएको घटनालाई महत्वपूर्ण उपलब्धि मानेको छ। हप्ता दिनअघि सार्वजनिक प्रगति विवरणको महत्वपूर्ण उपलब्धि सुन तस्करीको सञ्जाल तोडिएको गृहको दाबी सेलाउन नपाउँदै गोरखाको उत्तरी क्षेत्र धार्चेस्थित खोर्लाबास ओडारमा लुकाइराखेको १६ किलो र त्रिभुवन अन्तर्राष्ट्रिय विमानथस्लबाट चार किलो अवैध सुन बरामद भएको छ। यी दुई घटनाले सुन तस्करको जालो अपत्यारिलो ढङ्गले जरा गाडेर बसेको स्पष्ट हुन्छ। अपराध अनुसन्धान विश्लेषक एवं पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी सुन तस्करीमा नेपालको भूमि र भरियामात्र प्रयोग हुने गरेको बताउँछन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा आयात भएको ३३ किलो सुनकाण्डको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले सुन भरियाको एउटा सञ्जाल भत्काए पनि अन्तर्राष्ट्रिय सुन तस्कर, बेपत्ता ३३ किलो सुन र मालिकको पहिचान गर्न नसक्दा अपराधीको मनोबल बढेको छ। यही साउन ९ गते गोरखाको धार्चेमा १६ किलोसहित स्थानीय खच्चड व्यापारी धनकमल गुरुङ र २० गते आइतबार विमानस्थलबाट चार किलो अवैध सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।

विशेष गरी खाडी मुलुकबाट गरगहनाका रूपमा भित्रिने सुनको बजार नेपाल नै हो। बजारमा सुनको माग बढ्दै गएकाले अवैध सुनको आयात बढ्न थालेको हो। सुन व्यवसायीहरूका अनुसार नेपालमा कारोबार हुने ठूलै परिमाणको सुन अवैध भएको अनुमान छ। नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासङ्घका अध्यक्ष रमेश महर्जन सुनको असहज आपूर्ति तथा आपूर्तिमा एकद्वार प्रणाली लागू हुँदा समस्या भएको बताउनुहुन्छ। “एउटा सामान्य व्यापारीले एक किलो सुन किन्न सक्दैनन्, टुक्रा टुक्रा पारी भागबन्डा गरी खरिद गर्नुपर्छ। यसो गर्दा सुनको मूल्य बढ्न गई उपभोक्ता मारमा पर्छन् । – गाेरखापत्र दैनिक