घट्यो सेयरबजार, २५ करोडको मात्रै कारोबार

प्रकाशित मिति:

काठमाडौं – सेयरबजार परिसूचक नेप्से आज ५.१७ अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक घटेर १२२५.९० विन्दुमा झरेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि १.२२ अंकले ओर्लिएको छ। कुल १ सय ६९ वटा कम्पनीको कारोबार भएकामा १० लाख कित्ता सेयर मात्रै बिक्री भएका छन्। कुल १२ समूहको कारोबार भएकामा माइक्रोफाइनान्सबाहेक अन्य सबैको सूचक रातो छ। कारोबारका आधारमा आज नेपाल बैंकको सबैभन्दा धेरै २ करोड १० लाखको सेयर किनबेच भएको छ।

त्यस्तै रसुवागढी हाइड्रोपावर लिमिटेडको १ करोड ५८ लाखको, एनसीसी बैंकको १ करोड १५ लाखको, प्रभु बैंकको १ करोड ४ लाखको र साञ्जेल जलविद्युत् कम्पनीको ९९ लाखको सेयर किनबेच भएको नेप्सेले जनाएको छ। कमाइका आधारमा आज विजय लघुवित्तका सेयरधनीले २५ रुपैयाँ आम्दानी गरेका छन्। त्यस्तै एनएलजी इन्स्योरेन्सका सेयरधनीले १७ रुपैयाँ र छिमेक लघुवित्तका सेयरधनीले १९ रुपैयाँ कमाएका छन्। अन्य कम्पनीले औसत आम्दानी गरेका छन्। घाटा व्यहोर्नेमा भने वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, गुडविल फाइनान्स, सनराइज बैंक लगायतका कम्पनी रहेका छन्।