​सेती नदी किनारको चट्टानमा फसे ७ गाई

प्रकाशित मिति:

डोटी – सुदूरपश्चिमको दिपायल पिपल्लास्थित सेती नदीको चट्टाने भीरमा सातवटा गाई फसेका छन् । तर ती गाईहरु कसरी फसे र कहिलेदेखि फसेका हुन्, थाहा हुन सकेको छैन । सेती नदीको किनारमा रहेको चट्टानमा फसेका गाईको उद्धारका लागि प्रयास भैरहेको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।

‘गाईहरु फसेको विषयमा मैले जानकारी पाएँ, उद्धारका लागि प्रहरी तथा सशस्त्र प्रहरीलाई भनेको छु, चाँडै उद्धार गरिने छ’, उनले भने ।फसेका गाईमध्ये केही दूधालु तथा केही ब्याउने अवस्थाका रहेको स्थानीय प्रत्यक्षदशीृ तेजबहादुर डुम्रेले बताए । ‘केही गाई दूधालु छन्, केही गाई ब्याउने अवस्थाका छन्, मैले उद्धार गर्ने कोसिस गरेँ तर सकिन,’ उनले भने । ती गाईहरु कसरी फसे यसबारेमा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले बताउ । ‘मान्छे जान नसक्ने भीरमा गाई फसेका छन्, गाई कसरी त्यहाँ गए, कसैले धकेलेको हो कि, हामी अनुसन्धान गर्दैछौँ,’ उनले भने ।