कतारमा नेपालीमाथि सांघातिक हमला : एकजनाको मृत्यु, भीडभाडमा नजान दूतावासको अपिल

प्रकाशित मिति:

काठमाडौं – कतारमा नेपालीहरुमाथि सांघातिक आक्रमण हुँदा एक नेपालीको ज्यान गएको छ । मंगलबार राति कतारको राजधानी दोहास्थित जौदा पार्कमा भएको सांघातिक आक्रमणमा अरु पाँच नेपाली घाइते भएको कतारस्थित नेपाली राजदूतावासले जनाएको छ ।दोहास्थित नेपाली राजदूतावासले बुधबार विज्ञप्ति जारी गर्दै सांघातिक आक्रमणमा परी सुनसरीका तबरेज अन्सारीको मृत्यु भएको जनाएको छ । मृतकको शव आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रियाका लागि हमाद अस्पतालमको शव गृहमा राखिएको छ । घाइतेमध्ये उमर अन्सारीको सोही अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको र अन्य घाइतेको अवस्था सामान्य रहेको दूतावासले जनाएको छ ।

मारिने तथा घाइते हुने सबै सुनसरी जिल्लाका छन् । मृतक तथा घाइतेहरुको विस्तृत विवरण उनीहरुका परिवारलाई जानकारी गराइएको र यस घटनाबारे कतार प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाइएको छ । योसँगै कतारस्थित नेपाली दूतावासले नेपालीहरुलाई भीडभाड रहेको स्थानमा अत्यावश्वक कामबाहेक नजान र सुरक्षा सतर्कता अपनाउने समेत आह्वान गरेको छ । घटनामा संलग्न मध्ये केहिलाई कतार प्रहरीले पक्राउ गरेको जनाइएको छ । नेपालीलाई ब‌ंगलादेशी नागरिकहरुले आक्रमण गरेको बताइएपनि दूतावासले भने यस बारेमा केहि उल्लेख गरेको छैन ।