मुसलमान बहिनीको हातबाट राखी बाध्छन् मोदी

प्रकाशित मिति:

विश्वभरका हिन्दुहरुले बिहीबार रक्षाबन्धन मनाउँदै छन् । भारतमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिएर रक्षाबन्धन मनाउँछन् । रक्षा बन्धनका दिन भारतका करोडौं मानिसहरुले दाजुभाइ–दिदीबहिनीको आपसी सम्बन्ध प्रगाढ बनाउनका लागि राखी बाध्ने चलन छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि हरेक वर्ष राखी बाध्दै आएका छन् । सुन्दा अचम्म लाग्नसक्छ, उनलाई राखी बाधिदिने उनकी बहिनी भने पाकिस्तानी मुसलमान हुन् । नरेन्द्र मोदीलाई कट्टर हिन्दूवादी नेता मानिन्छ । सञ्चारमाध्यममा उनी पाकिस्तान र मुसलमान धर्मावलम्बीप्रति अनुदार रहेको भन्ने टिप्पणी भइरहन्छन् । तर, नरेन्द्र मोदीले भने विगत ३६ वर्षदेखि पाकिस्तानी मुसलमान महिलाको हातबाट राखी बाध्दै आएका छन् ।

पाकिस्तानमा जन्मेर हाल भारतको अहमदावादमा बसोबास गर्दै आएकी कमर मोहशीन शेखको हातबाट मोदीले विगत ३६ वर्षदेखि राखी बाध्दै आएका छन् । ती महिलाले राष्ट्रिय स्वयंसेवक संघ आरएसएसमा काम गर्ने समयमा उनको मोदीसँग भेट भएको थियो । त्यसबेला देखि उनले मोदीलाई राखी बाधिदिने गरेकी छिन् । यो वर्ष पनि मोदीलाई राखी बाधिदिन उनी अहमदावादबाट नयाँ दिल्ली पुगिसकेकी छिन् । यो वर्ष भारतको स्वतन्त्रता दिवस र रक्षाबन्धन एकै दिन परेकाले मोदीले शुरुमा भारतको स्वतन्त्रता दिवससका दिन लाल किल्ला पुगेर सम्बोधन गर्नेछन् । त्यसपछि उनको हातबाट राखी बाध्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।