प्रदर्शनका बीच अदालत लगिए रवि लामिछाने

प्रकाशित मिति:

काठमाडौं – पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछानेलाई जिल्ला अदालत, चितवनमा उपस्थित गराइएको छ । जिल्ला प्रहरी कार्यालय र अदालतबाहिर लामिछाने समर्थकले गरेको प्रदर्शनका बीच उनीसहित तीन जनालाई अदालत उपस्थित गराइएको हो । चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले लामिछानेलाई अदालतमा उपस्थित गराइएको बताए ।

‘अहिले म भिडकै बीचमा छु । उहाँलाई भित्र लगिसकिएको छ’, मल्लले भने, ‘थप अनुसन्धानका लागि हामीलाई अदालतले आज म्याद दिनेछ ।’ कानूनतः आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अदालतले अनुमति दिए प्रहरीले २५ दिनसम्म हिरासतमा राख्न सक्छ । लामिछानेसँगै बिहीबार पक्राउ परेका न्यूज २४ का पत्रकार युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्कीलाई पनि अदालतमा उपस्थित गराइएको छ । अदालतबाहिर प्रदर्शन गरिरहेका समर्थकले उनको रिहाइको माग गरिरहेका छन् । पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो सार्वजनिक भएपछि प्रहरीले बिहीबार काठमाडौंबाट रवि लामिछछानेसहित ३ जनालाई नियन्त्रणमा लिएर चितवन लगिएको थियो ।