अस्मिताको आक्रोश : मेरो पर्सनल एसएमएस किन बाहिरियो ?

प्रकाशित मिति:

काठमाडौँ – पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएकी युवती रुकु भनिने अस्मिता कार्कीले आफ्ना पर्सनल एसएमएस धमाधम सार्वजनिक भएकोप्रति आपत्ति प्रकट गर्दै एसएमएस सार्वजनिक गर्नेविरुद्ध साइबर क्राइममा मुद्धा दायर गर्ने जनाएकी छिन् ।चितवन प्रहरीले नियन्त्रण लिनुपूर्व अस्मिताले आफ्ना पर्सनल एसएमएस सिधा कुरा जनतासँग कार्यक्रमका प्रोड्युशर दीपक बोहरा र एक युवती ज्वाला संग्रौलाले गोप्य हुनुपर्ने एसएमएसहरु सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको भन्दै आक्रोश व्यक्त गरिन् ।

‘‘घटना भएपछि सम्बन्धित निकायलाई ती एसएमएस दिँदा ठीक होला तर सामाजिक सञ्जालमा सार्वजनिक गरेर कसैलाई दोषारोपण गर्नु कत्तिको ठीक हो ? ’’ उनको भनाई थियो । शालिकरामले पहिले पहिले पठाएका एसएमएसलाई सार्वजनिक गरी आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै उनले यसबारे कानुनी उपचार खोज्ने जनाएकी हुन् । शालिकरामले आफूलाई आत्महत्या पूर्व एसएमएस पठाएकोबारे गोप्यता कायम राख्ने शर्तमा आफूले सिधा कुरा जनतासँग कार्यक्रम युनिटका क्यामेरामेन अनिल ढुंगेललाई यस किसिमका एसएमएस शालिकरामले पठाएको भन्दै सम्झाइदिन आग्रह गर्दै ती एसएमएस उपलब्ध गराएकोमा अन्य व्यक्तिले धमाधम फेसबुकमा राखेको उनको गुनासो छ । उनले भनिन् –‘ मैँले शालिकरामले पठाएका एसएमएस कृष्ण थापा र अनिल ढुंगेललाई गोप्यता कायम राख्ने शर्तमा शालिकरामलाई सम्झाईदिन आग्रह गर्दै दिएकोमा सामाजिक सञ्जालमार्फत दीपक बोहोरा र ज्वाला संग्रौलाले किन सार्वजनिक गरे ? मेरो व्यक्तिगत स्वतन्त्रतामाथि हनन् भयो । ’’ उनले बताईन् ।

एसएमएस सार्वजनिक गर्नु अपराध – यसैबीच अधिवक्ताहरुले अर्काको एसएमएस विना अनुमति सार्वजनिक गर्नु अपराध हुने बताएका छन् । अधिवक्ता ज्योति बाँनिया र साइबर क्राइमसम्बन्धी विज्ञ एक अधिवक्ताले  भने– ‘‘विद्युतीय कारोबार ऐनको दफा ४७ मा विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्नेलाई सजाय हुन व्यवस्था छ । जसमा कुनै पनि व्यक्तिको गोपनीयता सम्बन्धी विषय उसको प्रतिष्ठामा आँच आउनेगरी सार्वजनिक गर्न नपाउने उल्लेख छ । विद्युतीय माध्यममा सार्वजनिक गर्नेमाथि ५ वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने उल्लेख छ । सहमतिविना जसले सार्वजनिक गर्छ त्यही कसूरदार हुन्छ ।’’

सामाजिक सञ्जालमा आएका एसएमएसलाई लिएर युवतीमाथि उनको चरित्रमाथि अनेकन टिकाटिप्पणी गरे गराएमा ती व्यक्तिलाई पनि साइबार क्राइम लाग्ने अधिवक्ता लव मैनालीले बताए । उनले भने –‘‘एसएमएसकै आधारमा यदि कोही व्यक्तिले ती युवतीमाथि अनेकन् टिकाटिप्पणी गर्छ भने दोषी बनाउँछ भने ऊ साइबर क्राइमको सजायको भागीदार हुन्छ । किनकी सामाजिक सञ्जालमार्फत कसैको पनि चरित्रहत्या गर्ने गराउनेगरी काम गर्न पाइँदैन । नेपालको कानूनले त्यस्तो गर्न छुट दिएको छैन । ’’ संविधानको धारा २८ मा गोप्यतासम्बन्धीको हक उल्लेख छ । जसमा व्यक्तिको जिउ, आवास, सम्पत्ति, पत्राचार, लिखत र तथ्याङकसम्बधी डकुमेन्टहरु सार्वजनिक गर्न नपाउने उल्लेख छ । – नेपालआज