चन्द्रागिरिमा ‘मदन भण्डारी स्मृति पार्क’ बन्ने

प्रकाशित मिति:

काठमाडौँ –चन्द्रागिरि नगरपालिका–१३ मा ‘मदन भण्डारी स्मृति पार्क’ निर्माण हुने भएको छ । काठमाडौँ महानगरपालिका र चन्द्रागिरि नगरपालिकाको साझेदारीमा उक्त उद्यान निर्माण हुन लागेको हो ।काठमाडौँ महानगरपालिकाको रु एक करोड तथा चन्द्रागिरि नगरपालिकाको रु एक करोड लागतमा उक्त उद्यान बन्न लागेको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो ।

“काठमाडौँ महानगरपालिकाले प्रत्येक नगरपालिकालाई पार्क निर्माणका लागि रु एक करोड विनियोजन गरेसँगै मदन भण्डारी उद्यान निर्माण गर्न लागेका हौँ”, उहाँले भन्नुभयो । उक्त उद्यानको बिहीबार शिलान्यास गरिएको छ ।चन्द्रागिरि नगरपालिकाको पर्यटकीय विकासका लागि केवुल कार, कालु पाण्डे समाधी स्थल, मातातीर्थलगायतले सहयोग पुग्ने उहाँको भनाइ थियो । उद्यान निर्माणसँगै चन्द्रागिरि नगरपालिकाको पर्यटनमा थप सहयोग पुग्ने गिरीले बताउनुभयो ।