रहिनन् बरिष्ठ अभिनेत्री सुभद्रा अधिकारी

प्रकाशित मिति:

काठमाडौँ –बरिष्ठ अभिनेत्री तथा नाट्यकर्मी सुभद्रा अधिकारीको ७३ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको असनमा वि।स। २००३ सालमा गायिका नूरा देवीको कोखबाट उनको जन्म भएको थियो । आमा नूराले उनलाई बेहोसी अवस्थामा जन्म दिएकी थिइन् । उनी जन्मँदा पाँच दिन अगाडि गाइजात्रा थियो । दुःखद संयोग १ उनको निधन गाइजात्राको एकदिन पछि भएको छ ।

२०२१ सालमा कृष्णप्रसाद अधिकारीसँग प्रेम विवाह गरेकी उनको पहिलो नाट्य अभिनय ‘कची मचा’ थियो । यसपछि उनले नाट्य अभिनयमा लामो समय विताइन् । बालकृष्ण समको निर्देशनमा ‘भक्त प्रह्लाद’, ‘बुहार्तन’, ‘नालापानी’ लगायत धेरै नाटकहरुमा उनले अभिनय गरेकी थिइन् । उनले पहिलो पटक नायिका भएर काम गरेको नाटक जगतमर्दन थापाको ‘पलाँसको फूल’ थियो । निर्देशक प्रकाश थापा निर्देशित फिल्म ‘मनको बाँध’ उनी अभिनीत पहिलो फिल्म हो । यसमा उनले हरिप्रसाद रिमालको पत्नीको भूमिका निभाएकी थिइन् । यो फिल्म गर्दा उनी २२ वर्षकी थिइन् ।

उनले ‘कन्यादान’, ‘भाउजु’, ‘स्वर्ग’, ‘चिनो’, ‘कर्जा’, ‘मंगलसुत्र’, ‘आमा’, ‘आमाको माया’, ‘बाटो मुनीको फूल’, ‘बेहुली’, ‘मुना मदन’, ‘मसान’ लगायत दर्जनौं फिल्ममा काम गरेकी छन् ।लामो समयदेखि दमको रोगी अभिनेत्री अधिकारीको शनिबार बिहान ८ बजे आफ्नो निवास डल्लुमा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए । स्वर्गीय अधिकारीको शनिबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार संघले बताएको छ । अहिले सामाजिक सञ्जालमा फिल्मकर्मीहरुले उनीप्रति श्रदाञ्जली अर्पण गरिरहेका छन्