शिक्षकको उमेरहद ६३ वर्ष !

३२ श्रावण २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
98 Shares

Symbolic

काठमाडौं – नेपाल शिक्षक महासंघले शिक्षकको अवकाशित उमेरहद ६३ वर्ष पुर्याउन माग गरेको छ । शिक्षा मन्त्रालयसँग चलिरहेको निर्णायक वार्तामा शिक्षकको उमेरहद ६० बाट ६३ वर्ष पुर्याउन महासंघले अडान राखेको हो । शिक्षा मन्त्रालयपनि संघीय शिक्षा ऐनमा यस्तो व्यवस्था गर्न सकारात्मक बनेको महासंघका अध्यक्ष बाबुराम थापाले बताए । ‘टुंगो नै त लागेको छैन तर मन्त्रालय शिक्षकको अवकाशित उमेरहद ६३ वर्ष पुर्याउन सकारात्मक देखिएको छ ।’ थापाले भने । राहत, इसिडी, साविक उमावि शिक्षक तथा विद्यालय कर्मचारीहरुको दरवन्दी सिर्जना गरी तत्काल स्थायी प्रक्रिया लग्न भन्दै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको शिक्षक महासंघलाई २२ घण्टा बित्न नपाउँदै शिक्षा मन्त्रालयले वार्तामा बोलाएको थियो ।

गत मंगलवार महासंघले शिक्षक कर्मचारीको माग पुरा गर्न भन्दै २४ घण्टे अल्टिमेटम दिएको थियो । तर, बुधवार शिक्षा मन्त्रालयले वार्तामा बोलाएको हो । बुधवार र विहिवार शिक्षा मन्त्रालय र शिक्षक महासंघका प्रतिनिधिहरुबिच वार्ता भएको थियो ।वार्तामा १० वर्ष सेवा गरेका स्थायी शिक्षकहरुको सामुहिक बढुवा गर्न, योग्यता पुगेका शिक्षकहरुको माथिल्लो तहमा बढुवा गर्न र शिक्षकहरुको विशिष्ट श्रेणीको व्यवस्था गर्न पनि मन्त्रालय सकारात्मक देखिएको महासंघका अध्यक्ष बाबुराम थापाले जानकारी दिए ।

शिक्षा ऐनमा शिक्षकहरुको लाइसेन्स र तालीम दिन टिचिङ काउन्सिलको व्यवस्थ ागर्न समेत शिक्षा मन्त्रालय सकारात्मक देखिएको थापाले जानकारी दिए । ऐनमा ल्याउँदा ढिलाइ हुने भन्दै तत्काल इसिडी शिक्षक र विद्यालय कर्मचारीको तलब सुविधा बढाउन तत्काल नियमावलीमा व्यवस्था गर्नुपर्ने विषयमा वार्तामा छलफल भएको अध्यक्ष थापाले जानकारी दिए ।यस्तै केही दिनमै मन्त्रिपरिषद् पास हुन लागेको राष्ट्रिय शिक्षा नीतिमा शिक्षकहरुको सुविधा अन्यभन्दा बढाउन र इसिडी र विद्यालय कर्मचारीको सेवासुविधा बढाउन मन्त्रालय सकारात्मक देखिएको थापाको भनाइ थियो । धेरै अस्थायी शिक्षकहरु  स्थायी भएपनि उमेरहदका कारण पेन्सन नपाउने सम्भावना थियो । यदि शिक्षकको उमेरहद ६३ वर्ष पुगे धेरै शिक्षकहरुले पेन्सन सुविधा पाउने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया