चन्द्रमाबारे रोचक १० तथ्य थाहा पाइराखौँ

प्रकाशित मिति:

एजेन्सी –राति आकाशमा देखिने चन्द्रमा मानव सभ्यताका लागि सँधै चासोको विषय रहँदै आएको छ । मानव सभ्यताको हरेक सँस्कृतिमा चन्द्रमाले कुनै न कुनै हिसाबमा महत्व राख्दै आएको छ । प्राचिनकाल देखि नै मानव जातिले चन्द्रमालाई निकै रोचक र चासोपूर्वक ध्यान दिँदै आएको छ । पछिल्लो समय आधुनिक प्रविधी तथा वैज्ञानिक अध्ययनले चन्द्रमाबारे नयाँ नयाँ तथ्यहरु सार्वजनिक गर्दै आएको छ । यस्ता केही तथ्यहरु छन् जसबारे सबैलाई थाहा नहुन सक्छ । प्रस्तुत छ चन्द्रमाबारे १० रोचक तथ्यहरु

१ उपग्रह

चन्द्रमा पृथ्वीको एकमात्र प्राकृतिक उपग्रह हो । ३४७५ किलोमिटर ब्यास रहेको चन्द्रमा सौर्यमण्डलको पाचौं ठूलो उपग्रह समेत हो । पृथ्वीबाट ३ लाख ८४ हजार ४ सय किलोमिटर टाढा रहेको चन्द्रमा पृथ्वीको चार भागको एक भागभन्दा केही बढी अर्थात् २७ प्रतिशत सानो छ ।

२ लुकेको भाग

चन्द्रमाले पृथ्वीलाई आफ्नो कक्ष बनाएर घुम्ने तथा आफ्नो धुरीमा घुम्ने समय उत्तिकै छ । सोही अनुसार चन्द्रमाको एकापट्टीको भागमात्र पृथ्वीबाट देखिने गरेको छ । यसअनुसार चन्द्रमाको पछिल्लो भाग पृथ्वीबाट देखिन्न । सोही अनुसार चन्द्रमाको लुकेको भागबारे वैज्ञानिकहरुमा अझ चासो पैदा हुने गरेको छ ।

३ टाढा

चन्द्रमा हरेक वर्ष पृथ्वीबाट टाढा जाँदै गरेको छ । वैज्ञानिकहरुका अनुसार चन्द्रमा हरेक वर्ष ३।८ सेन्टिमिटर टाढिँदै छ । अबको ५० अर्ब वर्षसम्म चन्द्रमा पृथ्वीबाट टाढिँदै जानेछ । यसो भएमा हाल चन्द्रमाले पृथ्वीको एक चक्कर लगाउन २७।३ दिन लगाउने गरेकोमा अबको ५० अर्ब वर्षपछि चन्द्रमाले पृथ्वीलाई चक्कर लगाउन ४७ दिन लगाउने विश्वास गरिन्छ ।

४ वातावरण

चन्द्रमामा कुनै किसिमको वातावरण छैन । यसकारण चन्द्रमाको आकाश कालो देखिन्छ । चन्द्रमामा कुनै वातावरण नभएका कारण चन्द्रमामा पाइला टेकेका मानिसहरुको पाइला हालसम्म जस्ताको त्यस्तै रहेको वैज्ञानिकहरुको विश्वास छ ।

५ पाइला

हालसम्म १२ जना मानिसले चन्द्रमाको सतहमा पाइला टेकेका छन् । सर्वप्रथम सन् १९६९ जुलाई २० मा अमेरिकी चन्द्रयात्री निल आर्मस्ट्रङले पहिलो पटक चन्द्र धरातलमा पाइला राखेका थिए । त्यसपछि विभिन्न चन्द्र अभियानमार्फत चन्द्रमामा १२ जना मानिसले चन्द्रमामा पाइला राखेका छन् । चन्द्रमामा पाइला राख्नेहरु सबै अमेरिकी चन्द्रयात्रीहरु छन् । अमेरिकाबाहेक अरु कुनै मुलुकले पनि चन्द्रमामा मानिसलाई पठाउन सकेको छैन ।

६ मानव निर्मित वस्तु

चन्द्रमामा पुगेको पहिलो मानवनिर्मित वस्तु तत्कालिन सोभियत संघले सन् १९५९ माप्रक्षेपण गरेको चन्द्र अभियान लुना २ हो । लुना २ ले सन् १९५९, १३ सेप्टेम्बरमा चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गरेको थियो । हालसम्म ३ मुलुकहरु अमेरिका रुस र चीनलेमात्र चन्द्रमामा सफलतापूर्वक मानवनिर्मित वस्तु अवतरण गरेका छन् । भारतले हालै प्रक्षेपण गरेको चन्द्रयान–२ नामक चन्द्र अभियान अबको केही सातापछि चन्द्रमामा अवतरण हुनेछ ।

७ समुद्रमा पानीको छाल

चन्द्रमाका कारण पृथ्वीको समुद्रमा छाल आउँछ । सुन्दा अपत्यार लाग्नसक्छ । तर, चन्द्रमाको गुरुत्वाकर्षण शक्तिका कारणसमुद्रमा ठूलो छाल आउने गरेको हो । सूर्यको गुरुत्वाकर्षण बलका कारण पनि समुद्रमा छाल आउने गरेको तर त्यो चन्द्रमाको गुरुत्वाकर्षणका कारण समुद्रमा आउने छालभन्दा निकै कमजोर हुने गर्छ ।

८ वजन

चन्द्रमाको गुरुत्व बल पृथ्वीको तुलनामा एकदमै न्यून छ । वैज्ञानिकहरुका अनुसार चन्द्रमाको गुरुत्व बल पृथ्वीको गुरुत्व बलको ६ भागको १ भाग छ । यसअनुसार पृथ्वीमा १ सय किलोग्राम वजनको कुनै पदार्थ चन्द्रमामा केबल १६।५ किलोग्राम हुन्छ ।

९ ‘चन्द्र’ कम्प

पृथ्वीमा भूकम्प आएजस्तै चन्द्रमामा पनि कम्प आउने गरेको छ । चन्द्रमाको भित्रि तह पृथ्वीजस्तै पग्लिएको छ । सोहीकारण पृथ्वीको गुरुत्वाकर्षण बलले चन्द्रमामा पार्ने असरका कारण चन्द्रमाको सतहमुनी कम्प आउने गरेको हो । विभिन्न चन्द्र अभियानमार्फत चन्द्रमामा राखिएका सिस्मोग्राफिक उपकरणले त्यहाँ पनि कम्प आउने पुष्टि गरेका हुन् ।

१० खाडलहरु

चन्द्रमामा विशाल विशाल खाडलहरु छन् । क्रेटर भनिने यस्ता खाडलहरु चन्द्रमामा आकशीय पिण्डको वर्षाका कारण उत्पन्न हुन पुगेको विश्वास गरिन्छ । चन्द्रमामा कुनै किसिमको वातावरण नभएकाले त्यहाँ आउने आकशीय पिण्डहरु सोझै सतहमा झर्ने भएकाले यस्ता क्रेटर बन्न पुगेको हो ।