कक्षामा दुना टपरी गास्न सिकाउँदै शिक्षक

१ भाद्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
120 Shares


धादिङ – बालबालिका विद्यालय किन जान्छन् ? सबैको साझा उत्तर हुन्छ ‘पढ्न’ । पढाइ शब्द आजभोली बालबालिकाका लागि निकै ठूलो भारी जस्तै भएको छ । आफूभन्दा ठूलो भारीका रुपमा झोला बोकेर विद्यालय जानुपर्ने बाध्यता र झोलाभरी भएका पुस्तकका अक्षरहरु घोक्नुपर्दा विद्यार्थीहरु आजित भएका छन् । परीक्षामा विद्यार्थीले पाउने उत्कृष्ट अंकलाई आफ्नो सफलता सम्झने अधिकांश विद्यालयहरु विद्यार्थीलाई सिकाउने भन्दा पनि घोकाउने प्रतिस्पर्धा गरीरहेका हुन्छन् । तर धादिङको एउटा निजी विद्यालयले भने आफ्ना विद्यार्थीलाई व्यवहारिक शिक्षा दिएर उदाहरणीय कार्य गरेको छ ।

धादिङको नीलकण्ठ नगरपालिका ३ मा रहेको एड्भान्स एकेडेमीले विद्यार्थीहरुलाई हरेक मंगलबार व्यवहारिक शिक्षाको अभ्यास गराउन थालेको छ । मंगलबार शिक्षक शिक्षिकाले छात्रछात्राहरुलाई कुनै किताबको पाना पल्टाउन लगाएनन् । न त पुस्तकमा लेखिएका शब्दहरुकै घोक्न लगाए । विद्यालयको प्राङ्गणमै सालको पात, डोरी बाट्ने बावियो र बत्ति कात्ने कपास ल्याएर विद्यार्थीलाई सालको पातको दुना, टपरी बोहता बनाउन र बाबियोको डोरी र बत्ति कात्न सिकाए । मार्कर लिएर कक्षाकोठामा पढाउन जाने शिक्षक शिक्षिकीहरु हातमा बाँबियो, सालको पात, सिन्का लिएर विद्यार्थीहरुलाई डोरी बाट्न, दुना टपरी गाँस्न र बत्ति कात्न सिकाउन थाले । त्यतिमात्रै होइन केही विद्यार्थीहरुलाई विद्यालय नजिकै रहेको गाउँमा लगेर ढिँकीमा अन्न कसरी पिँध्ने भनेर पनि सिकाए ।

विद्यालयले मंगलबार कक्षा ७ देखि १० सम्मका विद्यार्थीलाई उनीहरुको रुची अनुसार पात गाँस्न, डोरी बाट्न तथा बत्ती कात्न सिकाएको हो । यस्तै कक्षा ४ देखि ६ सम्मका विद्यार्थीले आर्थिक उपार्जनका लागि गरिने कृषि खेती तथा अन्न पिन्न प्रयोग हुने परम्परागत विधि ढिँकी जाँतो प्रयोग गर्न सिके । आजभोली बालबालिकालाई यस्ता सीपहरु बाबुआमाले गरेपनि छोराछोरीलाई सिकाउन चाहदैनन् । घरमा नसिकेका तर घरायसी काममै प्रयोग हुने यस्ता जीवनउपयोगी सिपहरु विद्यालयमा सिक्न पाउँदा विद्यार्थीहरु खुसी भए ।

कक्षा १० मा पढ्ने दिपा कोइरालाले मंगलबार विद्यालयमै बत्ति कात्न सिकिन् । घरमा आमा, हजुआमाले बत्ति कातेको देख्दा चासो नदिने कोइरालाले विद्यालयमा बत्ति कात्न सिकाएपछि रुची देखाइन् । ‘घरमा ममि,हजुरआमाहरुले बत्ति कात्नुहुन्थ्यो तर हामीलाई पढ भन्नुहुन्थ्यो, मलाई बत्ति कात्न रुची पनि थिएन,’ कोइरालाले खबरहबसँग भनिन्, ‘तर विद्यालयमा बत्ति कात्न सिकाउने भनेपछि मलाई पनि सिक्न मन लाग्यो, बत्ति कात्न सिकेर आफुले कातेको बत्ति घरमा देखाउन लगे, घरमा सबैजना खुसी हुनुभयो ।’ धादिङबेशीकी कक्षा ४ मा पढ्ने जोशना श्रेष्ठले ढिँकी, जातोको विषयमा पाठ्यक्रममा पढेकी थिइन् । शहरमै बस्ने भएकाले उनले ढिँकी जातोलाई पुस्तकको चित्रमा मात्रै देखेकी थिइन् । तर मंगलबार उनले ढिँकी, जातो नजिकैबाट देख्न र प्रयोग गर्ने तरिका समेत सिक्न पाइन् ।

‘म बजारमा बस्छु, मेरो विद्यालयले ढिँकी, जाँतो देखाउन स्कुल नजिकै गाउँमा लगेको थियो, मलाई आफ्नै आँखा अगाडी ढिँकी, जाँतो देख्दा अचम्म लाग्यो,’ श्रेष्ठले भनिन्, ‘पहिला चित्रमा मात्रै देखेको जाँतो, ढिँकी मंगलबार चलाउन पनि सिके ।’ श्रेष्ठले जस्तै कक्षा ९ कक्षामा अध्ययनरत सपना लम्सालले सालको पातको दुना टपरी बनाउन सिकिन् । ‘घरमा आमा हजुरआमाले टपरी बनाउनु भएको देखेको थिए, ममिले मलाई पनि टपरी बनाउन आउ भन्नुहुन्थ्यो, तर मलाई त आउँदैन भनेर वास्ता नै गर्दिनथें, ममिले पनि कर लगाउनु हुन्नथ्यो,’ लम्सालले भनिन्, ‘तर विद्यालयमै सिकाउने मलाई पनि सिक्न मनलाग्यो, सिकेपछि जानिदोरहेछ, मैले बनाएको टपरी घरमा लगेर देखाए, ममी खुसी हुनुभयो, हजुरआमाले त यस्तो राम्रो तिम्ले बनाएको हैन होला भन्नुभयो, शुरुमा त पत्याउनै सक्नुभएन ।’

‘अब त मलाई राम्रोसँग आउँछ, म अरुलाई पनि कसरी टपरी गाँस्ने भनेर सिकाउन सक्छु ।’ उनले खुसी हुँदै थपिन् । सोही विद्यालयका कक्षा ७ मा पढ्ने रामचन्द्र रोक्काका बाबु,बाजे डोरी बाट्ने काम गथें । तर रोक्कालाई बाबुआमाले कहिल्यै डोरी बाट्ने काम लगाएका थिएनन् । उनले मंगलबार स्कुलमै बाबुबाजेले गर्दै आएको काम सिक्ने अवसर पाए । ‘घरमा बाजे, बुबाले डोरी बाट्नुहुन्थ्यो, हाम्रो परम्परा नै थियो रे, तर मलाई डोरी बाट्न लगाउनुभएको थिएन, मैले स्कुलमा बाबुबाजेलेको गरेको काम सिक्न पाए,’ रोक्काले भने, ‘विद्यालयमा जीवकोपार्जनका लागि गर्ने कामहरु सिक्न पाउँदा खुसी लाग्यो ।’

आजभोली बाँबियोको डोरी, सालको पातबाट बनाइने दुनाटपरी, घरमै कात्ने बत्ति, ढिँकी, जातोको परम्परा लोप हुने अवस्थामा छ । शहरमा मात्रै होइन गाउँघरमा समेट दुना टपरीको ठाउँमा प्लाष्टिकका भाडाहरु प्रयोग हुन थालिसेको छ । समाजमा लोप हुन लागेका संस्कृतिहरु एड्भान्स एकेडेमीले आफ्ना विद्यार्थीलाई अतिरिक्त क्रियाकलापको रुपमा सिकाउन थालेको हो । विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप गराउने क्रममा व्यावहारीक सिपहरु सिकाएको विद्यालयका भाइस पिन्सिपल राम श्रेष्ठले बताए । ‘हामीले हरेक मंगलबार विद्यार्थीहरुलाई कोर्षको पढाइ बाहेक अतिरिक्त क्रियाकलापहरु गराउँछौं । विद्यालयमा प्रया अतिरीक्त क्रियालापमा खेलकुद प्रतियोगिताहरु भइरहन्थ्यो,’ श्रेष्ठले खबरहबसँग भने, ‘हामीले अहिलेको मंगलबार बालबालिकालाई के कुरा नयाँ दिन सक्न्छि भनेर सोच्दा जीवनउपयोगी व्यावहारीक ज्ञान र सिप सिकाउने भनेर टपरी बुन्ने, डोरी बाट्ने, बत्ति काँट्ने कामहरु सिकाएका हौं ।’ अतिरिक्त क्रियाकलाप गराउने क्रममा लोप हुन लागेको परम्परालाई प्राथमिकता दिएर सिकाइएको श्रेष्ठको भनाइ छ । – खबरहब

फेसबुकबाट तपाईको प्रतिक्रिया