शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश

प्रकाशित मिति:

काठमाडौं – सर्वोच्च अदालतले फिल्म निर्माता तथा निर्देशक छबिराज ओझाकी श्रीमती तथा अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश जारी गरेको छ । उच्च अदालत पाटनको आदेशविरुद्ध निशेषाज्ञाको पुनरावलोकन रिटमाथि सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलाशले पोखरेललाई तत्कालन पक्राउ नगर्न प्रहरीका नाममा आदेश जारी गरेको हो ।

छबिराज ओझाकी जेठी पत्नी हेमा ओझाले दिएको उजुरीका आधारमा महानगरीय प्रहरी बृत्त गौशालाले काठमाडौं जिल्ला अदालतको अनुमतिमा छबि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । प्रहरीले जारी गरेको पूर्जी खारेजीको माग गर्दै शिल्पाले उच्च अदालत पाटनमा निषेधाज्ञाको रिट दायर गरेकी थिइन् । तर, उच्च अदालत पाटनले भने शिल्पाको माग बमोजिम पक्राउ पूर्जी खारेज गर्ने आदेश जारी गरेन । उच्च अदालत पाटनले निषेधाज्ञा दिन अस्वीकार गरेपछि शिल्पाले २९ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । शिल्पाका तर्फबाट दायर गरेको निषेधाज्ञाको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै प्रधानन्यायाधीश राणाको इजलाशले शिल्पालाई तत्काल पक्राउ नगर्न आदेश जारी गरेको हो । यससम्बन्धमा थप छलफल गर्न दुवै पक्षलाई भदौ १५ गते उपस्थित हुन भनिएको सर्वोच्च स्रोतले खबरहबलाई जानकारी दियो ।