काठमाडौं प्रहरी प्रमुखलाई फेसबूकमा गाली गरेको भन्दै एक युवक पक्राउ

प्रकाशित मिति:

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी उत्तमराज सुवेदीलाई फेसबूकमा गाली गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउ परेको विषयलाई लिएर एसएसपी सुवेदीलाई फेसबूकमार्फत गाली गरेको आरोपमा अछाम घर भएका युवक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा अछाम घर भएका रिदम बिसी भनिने शंकर बिक छन् । जिल्ला प्रहरी कार्यालय अछामको टोलीले उनलाई अछाम सदरमुकाम मंगलसेनबाट पक्राउ गरेको हो । पक्राउ परेका बिकमाथि थप अनुसन्धानका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) होविन्द्र बोगटीले शंकरलाई पक्राउ गरिएको बताए । ‘जिल्ला प्रहरी कार्यालय अछामलाई पक्राउका लागि पत्र पठाइएको थियो । पक्राउ गरेर अहिले काठमाडौं ल्याइँदै छ,’ बोगटीले भने । शंकरले रवि लामिछाने पक्राउको विषयमा आक्रोश पोख्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुवेदीको तस्वीर राख्दै गालीगलौच गरेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शंकरले आफू गायक भएको बताएका छन् । उनले आफू लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला समिति अछामको कार्यसमिति सदस्य भएको समेत बताएका छन् ।