अब जम्मा रू.२१ सय रुपैंयामा बाजागाजा सहित धुमधामले हुने भयो विवाह

प्रकाशित मिति:

गुल्मी – यही भदौ २८ देखि असोज १७ गतेसम्म रुरु क्षेत्रमा‘ ऐतिहासिक रुरु धार्मिक तथा सांस्कृतिक तुलादान महोत्सव एवं संगीतमय लीलामय श्रमद्भागवत पितृमोक्ष विराट ज्ञान महायज्ञ– २०७६’ आयोजना हुने भएको छ । महायज्ञमा मुलुकी संहिता २०७४ ले तोकेअनुसार उमेर पुगेका जोडीहरुले जम्मा २१ सय रुपैयाँ दानगरी बाजागाजासहित विवाह गर्न पाउने व्यवस्था समेत गरिएको छ ।‘विश्वविख्यात श्रीमद्भागवत कथा वाचक’ बालयोगेश्वर महाराज तथा प्रमुख वाचकले यस्तो महायज्ञ देशमै पहिलो हुने दाबी गरेका छन् । ‘जम्मा २१ सय रुपैयाँ भेटी दिएर हजारौँ भक्तजनलाई जन्ती बनाउँदै बाजागाजासहित भब्य विवाह सम्पन्न गरिन्छ र आवश्यक परे बेहुलाबेहुलीलाई गाडीमा राखेर घरसम्मै लैजाने व्यवस्था मिलाइनेछ’ महाराज बालयोगेश्वरले भने । यस्तो ऐतिहासिक विवाह र महायज्ञ आफूले कहिल्यै नदेखेको मूल आयोजक समितिका संयोजक गुरुप्रसाद ज्ञवालीले बताए ।

महायज्ञको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली प्रमुख संरक्षक र प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन वराल वरिष्ठ संयोजक रहेका छन् । स्याङ्गजा, पाल्पा र गुल्मीको संगमस्थल रहेको रिडी क्षेत्र कालीगण्डकीको तटमा पर्छ । महायज्ञमा पितृमोक्ष अर्थात आफ्ना परिवारका मृतकहरुको श्रद्धा समेत गरिनेछ । त्यसका अलवामा सामूहिक रुपमै व्रतबन्ध, कन्यापुजन, तुलादान, र लाखबत्ती अर्थात तुलादान लगायत कर्मकाण्ड गरिनेछ । २१ दिनसम्म २१ करोड दीपप्रज्वलन गरिने र २१ सय रुपैयाँमा विवाह, व्रतबन्धसमेत गरिने महायज्ञमा दान गर्न चाहने ब्यक्ति वा संस्थाले स्वेच्छिक रुपमा दान गर्न सक्नेछन् भने संकलन भएको रकमले रुरु क्षेत्रको विकास निर्माणमा खर्च गरिने छ । महायज्ञबाट सङ्कलन भएको रकमले देशमै ठूलो शङ्ख र घण्टा निमार्ण गरिने, गौशला निर्माण गरिने, सार्वजानिक शौचालय, भक्तजन बस्ने प्रतिक्षालय निर्माण गरिने प्रमुख वाचकले जानकारी दिए । त्यस्तै रुरु क्षेत्रलाई विश्वभरका हिन्दु धर्मलम्वीहरुलाई चिनाउन उनीहरुको प्रमुख धार्मिक गन्तव्यस्थल बनाउन सकिने सरोकारवालाहरुको भनाइ छ ।