रवि लामिछानेलाई भेट्न कांग्रेस नेता जगदीश्वरनरसिंह केसी चितवनमा

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसका नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसी संचारकर्मी रवि लामिछानेलाई भेट्न सोमबार चितवन जाँदैछन् । लामिछाने यतिबेला पत्रकार शालिकराम पुडासैनीको ‘आत्महत्या’ प्रकरणमा सोधपुछका लागि चितवन प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनामा पुडासैनीलाई आत्महत्या गर्न वाध्य पारेको भन्दै रविसहित तीन जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको बताएको छ । रवीलाई भेट्न यसअघि काँग्रेस नेता दिलेन्द्रप्रसाद बडू, कुन्दन काफ्ले लगायत पुगिसकेका छन् । दुई हप्ताअघि चितवनको भरतपुरस्थित एक गेष्ट हाउसमा पुडासैनीको शव भेटिएको थियो । उक्त घटना स्वभाविक आत्महत्या हो वा हत्या भन्नेसमेत पुष्टि हुन नसकेको अवस्थामा गम्भीर प्रश्न खडा भएको नेता केसीले बताएका छन् ।

विज्ञप्ति जारी गर्दै उनले कतै षडयन्त्रको सिद्धान्त अनुरुप रविलाई यो घटनामा फसाउन खोजिएको त हैन भन्ने प्रश्न पनि उब्जिएको बताएका छन् । उनले कुनै पूर्वाग्रह राखेर फसाउन खोजिएको आशंका बढेको भन्दै सत्यतथ्य अनुसन्धानमा पनि जोड दिएका छन् । रवि लामिछाने कुनै राजनीतिक दलसंग आवद्ध नभएको दावी गर्दै आएका छन् । यद्यपि उनको विवाह भने गत वैशाखमा राप्रपाका कोषाध्यक्ष उद्धव पौडेलकी छोरी एवं चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष निकिता पौडेलसंग भएको थियो ।

प्रेस विज्ञप्ती
दुई हप्ताअगाडि चितवनको भरतपुरस्थित एक गेस्टहाउसमा ‘आत्महत्या’ गरेको भनिएका पत्रकार शालिक राम पुडासैनीको निधनले जनस्तरमा अनेकौँ आशंका र भ्रम उत्पन्न भएको छ । ‘आत्महत्या’ भनिएको घटनाको प्रकृति र त्यसअघि पत्रकार शालिक रामले भिडिओ रेकर्डमा दिएको मृत्युको घोषणा (डाइङ डिक्लियरेशन) हेर्दा स्वाभाविक आत्महत्या हो कि हत्या हो भन्ने गम्भीर प्रश्न उठेको छ ।निधन भएका पत्रकार शालिकराममाथि अनेकौँ असाधारण दबाबपछि उनी बाध्यतापूर्वक सो वक्तब्य दिन विवश भएर षड्यन्त्रको सिद्धान्त (कन्स्पिरेसी थ्योरी) अनुरुप यसै काण्डमा कसैलाई फसाउने दुरासय हो वा आत्महत्या नै हो ? भन्ने आमचासोलाई स्पष्ट गर्नु जरुरी छ । उनी मेरो जिल्लाका निवासी सहयागी पत्रकार भएको नाताले पनि यसबारेमा सोधखोज गर्नु हामी आफ्नो दायित्व तथा जिम्मेवारी मान्दछौँ ।

यसबारे सरकारी अनुसन्धान चलिरहेको छ । जुनसुकै कारणले गर्दा होस्, पत्रकार शालिकराम पुडासैनी असाधारण मानसिक यातना, दबाब र अन्यायको परिणामस्वरुप मृत्यु वरण गर्न पुगेको हुनाले उनीमाथि घोर अन्याय र अपराध भएको देखिन्छ । “अनुसन्धानका लागि जुनसुकै सहयोग गर्ने” सार्वजनिक प्रतिबद्धता जनाउँदा जनाउँदै, प्रेस स्वतन्त्रताका नियमलाई मिचेर पत्रकार रवि लामिछानेको कार्यालयभित्रै पुगेर प्रहरीले उनलाई पक्राउ गरेको घटना पनि त्यति नै दुराशययुक्त एवं निन्दनीय छ । कसैलाई पीडित बनाउँदै निहित स्वार्थ पूरा गर्न खोज्ने आपराधिक तत्वले यसबाट कुनै पनि रुपबाट नाजायज लाभ लिने अवसर नपाओस् । पक्राउ परेका वा मृत्यु भएका कोही पनि अन्यायको शिकार नबनुन् । तसर्थ अनुसन्धान निष्पक्ष, मोलाहिजाबाट मुक्त र न्यायोन्मुख होस् । यसका लागि उच्चस्तरीय छानबीन आयोग नै गठन गरी पीडितलाई न्याय तथा परिपूरण र पीडकलाई हदैसम्मको सजाय दिने न्यायिक प्रक्रियाले काम गरोस् ।

जगदीश्वरनरसिंह केसी
मिति – २०७६–०५–०१ सभापति
नेपाली काँग्रेस, नुवाकोट ।