वरिष्ठ नेता पौडेल भन्छन – ‘सरकारले राज्यकाे ढुकुटी कार्यकर्तालाई बाँड्याे’

प्रकाशित मिति:

बुटवल – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षा गर्नुपर्ने समय आएको बताएका छन्।केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार रुपन्देहीको भैरहवामा गरेको कार्यक्रममा पौडेलले दुईतिहाई बहुमतको सरकारले केही काम गर्न नसकेको आरोप लगाए। सरकारले संविधानको मर्म माथि नै प्रहार गरेको उनले बताए ‘सरकारको ढुकुटी कार्यकर्तालाई बाँडिएको छ’–उनले भने। पार्टीका उपसभापति तथा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिले सरकारले लोकतन्त्र विरुद्ध काम गरिरहेको आरोप लगाए। उनले लोकतन्त्र रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए।

कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजय कुमार गच्छदारले नेपाली कांग्रेस संगठित हुन आवश्यक रहेकोमा जोड दिए। उनले कांग्रेसका नेता कार्यकर्ता लोकतन्त्र तथा स्वतन्त्रताको लागि लड्दै आएको बताए। पार्टीका पूर्व महामन्त्री तथा केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले अब कार्यकर्तामाझ मात्र नरहेर कांग्रेस जनतामाझ पनि जानुपर्ने बताए। उनले जनमतकै आधारमा कांग्रेसले सरकारलाई सही दिशातर्फ लैजान सक्ने बताए। नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले लोकतन्त्र रक्षाको लागि पार्टीले शान्तिपूर्ण संघर्ष गर्नुपर्ने बताए। कांग्रेसका संसदीय दलका सचेतक पुष्पा भुसालले पार्टी एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताइन्।