पुडासैनी मृत्यु प्रकरण : निर्दोष नपरुन्, दोषी नछुटुन् – कांग्रेस

प्रकाशित मिति:

चितवन– नेपाली कांग्रेस चितवनले पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पीडितलाई न्याय तथा निर्दोष नपरुन् र दोषी नछुटुन् भन्ने मान्यताका साथ छानविन गर्न माग गरेको छ । कांग्रेसले विज्ञप्ति जारी गर्दै घटनाको गम्भीररुपमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेको हो । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ र सचिव उत्तम जोशी द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘जनताको मौलिक हकहरु कुनै पनि असहज परिस्थितिमा पनि हनन हुनु हुँदैन, विधिको शासन र स्वतन्त्र न्यापपालिकाको सम्मान हुनुपर्नेमा नेपाली कांग्रेस चितवन दृढ छ ।’

कांग्रेसले चितवनको पछिल्लो जनप्रदर्शनले सरकारप्रति जनताको विश्वास घट्दै गइरहेको देखाएको पनि निष्कर्ष निकालेको छ । विज्ञप्तिमा पछिल्ला पदर्शनमा सरकार र सम्बन्धित निकायलाई सचेत रहन पनि अनुरोध गरिएको छ । पत्रकार पुडासैनीको मृत्यु प्रकरणमा छानविनका लागि कार्यक्रम प्रस्तोता रवि लामिछाने लगायत तीन जनालाई पक्राउ गरेपछि रविका समर्थकहरुले चितवनमा आन्दोलन चर्काउँदै आएका छन् । स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले आज निषेधित क्षेत्र जारी गरेको थियो ।