बुद्धमुर्ती तोडफोड प्रकरण: डिएसपीको होइन एआइजीको नेतृत्वमा छानबिन टोली गठन गर्न माग

प्रकाशित मिति:

तिलोत्तमा-राष्ट्रिय जनमुक्ति पार्टीले रुपनदेहीको तिलोत्तमामा राखिएका बुद्ध मुर्ती तोडफोड घटनाको छानबिन गर्न एआइजीको नेतृत्वमा टोली गठन गर्नुपर्ने माग गरेको छ ।गौतमबुद्धको जन्मस्थल रुपन्देहीमै पाँच वटा बुद्धका मुर्ती तोडफोड भएको घटनालाई सरकारले हल्का रुपमा लिएर प्रहरी नायव उपरिक्षकको नेतृत्वमा छानबिन टोली गठन गरेको भन्दै सो पार्टीले एआइजीको नेतृत्वमा छानबिन टोली गठन गर्न माग गरेको हो ।

बुद्धमुर्ती तोडफोड भएको एक महिना बितिसक्दा समेत तोडफोडमा संलग्नलाई कानूनी दायरामा नल्याएको बिरोधमा राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीले आज तिलोत्तमाको मणिग्राममा आयोजना गरेको खबरदारी तथा बिरोधसभालाई संबोधन गर्दै सो पार्टीका उपमहासचिव तथा विदेश बिभाग प्रमुख टोप अस्लामीले उक्त माग गरेका हुन् ।बुद्धका फोटा बेचेर र बुद्धकै नामबाट आय आर्जन गर्ने सरकारले बुद्धका मुर्ती तोडफोडको घटनालाई सामान्य रुपमा लिएको भन्दै उनले घटना घटेको एक महिना बितिसक्दा समेत तोडफोडमा संलग्नलाई कानूनी दायरामा ल्याउन सरकारले तदारुकता नदेखाउनु दुर्भाग्यपूर्ण भएको टिप्पणि गरे ।दोषीलाई कानूनी कार्बाही नभए सामाजिक सद्भाव विथोलिन सक्ने भन्दै उनले मुलुकमा सामाजिक सद्भाव खल्बलिए त्यसको जिम्मेवारी बर्तमान सरकारले लिनुपर्ने बताए ।

बुद्धमुर्ती तोडफोडको घटनाप्रति संघीय सरकारका संचार प्रविधि तथा सूचना मन्त्री गोकुल बास्कोटाको अभिव्यक्तिले सरकारले यो घटनालाई समान्य रुपमा लिएको प्रस्ट हुने भन्दै उनले राष्ट्रिय विभुतिका मुर्तीहरु तोडफोड जस्तो गम्भिर बिषयलाई हल्का रुपमा नलिन सरकारलाई चेतावनी समेत दिए ।कार्यक्रममा बोल्दै पुर्व सांसद बिनोद पहाडीले बुद्धमुर्ती तोडमा संलग्नलाई कानूनी दायरामा ल्याउन प्रदेशका मूख्यमन्त्रीले सूरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको भनि आफुले सञ्चार माध्यम मार्फत थाहा पाएको भन्दै मुख्यमन्त्रीको निर्देशन कार्यान्वयन नभएको हो की मुख्यमन्त्रीको चाहना नभएको हो भनि प्रश्न गरे ।राष्ट्रिय जनमुक्ति पार्टीका प्रदेश अध्यक्ष झमबहादुर गुरुङ्गले जेसिभी र घनको प्रयोग गरेर राजमार्गमा रहेका बुद्धका मुर्तीहरु तोडफोड हुँदा पनि अपराधिहरु पक्राउ नपर्नु दुर्भाग्यपूर्ण रहेको बताए ।

बुद्धकै नाम जोडेर प्रदेश सरकारले लुम्बिनी भ्रमण बर्ष मनाई रहेको अवस्थामा बुद्धका मुर्ती तोडफोडको घटनामा प्रदेश सरकार मौन रहेकोमा आपत्ति जनाए ।दोषीलाई कानूनी दायरामा नल्याउदा सम्म पार्टीले आन्दोलन जारी राख्ने समेत उनले बताए ।राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीका अधयक्ष प्रेमबहादुर थापाको सभापतित्वमा सम्पन्नकार्यक्रममा नेकपा क्रान्तिकारी –माओवादी)का पोलिट्व्यूरो सदस्य केबी गुरुङ्ग,राष्ट्रिय मुस्लीम परिषदका अध्यक्ष डा.हाजी महमद हसन,राष्ट्रिय महिला मोर्चा केन्द्रीय महासचिव गिता सारु,नेपाल मगर बौद्ध सेवा समाज तिलोत्तमाका अध्यक्ष पूर्णबहादुर बलाल,जनमुक्ति पार्टी रुपन्देहीकी उप सचिव यानु पुन लगायतले मुर्ती तोडफोडमा संलग्नलाई तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याउन माग गरेका थिए ।यसैबीच बुद्धका मुर्ती तोडफोड भएको एक महिना बितिसक्दा समेत दोषि पत्ता लगाउने तर्फ सरकारले बेवास्ता गरेको भन्दै जनमुक्ति पार्टीका नेता कार्यकर्ता सडकमै सिद्धार्थ राजमार्गमा सुतेर बिरोध जनाएका थिए ।प्रदर्शनकारीहरु सडकमै सुतेर बिरोध जनाएपछि केहीबेर सिद्धार्थ राजमार्गको बुटवल–बेलहीय खण्डमा सवारी आवागमन अबरुद्ध भएको थियो ।