काभ्रेमा रजस्वला नभएका कन्याको पूजा, पुज्ने व्यक्ति निरोगी र ‘मनले चिताएको’ पुग्ने मान्यता

प्रकाशित मिति:

काभ्रेपलान्चोक – रजस्वला नभएका कन्यालाई पुज्ने व्यक्ति निरोगी हुन्छन् र ‘मनले चिताएको’ पुग्ने मान्यता छ । यस मान्यताका साथ काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा रजस्वला नभएका कन्या (विशेषगरी १० वर्षमुनिका) लाई श्रीकृष्ण जन्माष्टमीका अवसरमा पुज्ने गरिन्छ । विशेषगरी जिल्लाको मुख्य शहर बनेपामा धुमधामका साथ कन्या पूजा आयोजना गरिन्छ । बनेपा नगरमा यो पूजाको इतिहास ११७ वर्ष पुरानो हो । बनेपामा वर्षमा दुईपटक कन्या पूजाको आयोजना गरिन्छ । टिकट दिएर गरिने पूजा जहाँ वर्षेनी करीब दुई हजार ५०० कन्या पूजिन्छन् ।नेवाः कन्या पूजा नाम दिइएको टिकलवाला कन्या पूजा आज बनेपा नगरपालिका–८ दक्षुटोलमा आयोजना भएको छ । “हामीले यसलाई वर्षौँदेखि निरन्तरता दिइरहेका छौँ, यसको आफ्नै मान्यता रहेको छ”, नेवाः कन्या पूजा प्रबन्ध समितिका अध्यक्ष रत्नभक्त पोटेले भन्नुभयो । अर्को, बिनाटिकट, स्वतःस्फूर्त गरिने कन्या पूजा कृष्ण जन्माष्टमीका दिनमा वर्षेनी करीब आठ हजार कन्या सहभागी हुने गर्दछन् ।

बनेपा नगरको भोलाखाँटोलदेखि लायकु दरबार तथा पुरानो बजारको दायाँबायाँ चारदोबाटोसम्म पेटीमा रजस्वला नभएका कन्या लस्करै बस्छन् । १० वर्षमुनिका कन्यालाई पुज्दा उनीहरुको स्वास्थ्य राम्रो हुने तथा पुज्ने व्यक्तिलाई समेत धर्म प्राप्त हुने जनविश्वास रहिआएको छ । यसकारण पनि कन्यालाई पुज्नेको ठूलो भीड हुने गर्दछ । कन्यालाई पुज्न काठमाडाँै, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाट समेत भक्तजन आउने गरेका सनातन कन्या पूजा प्रबन्ध समितिका सदस्य प्रकाश कायस्थले जानकारी दिनुभयो । उहाँका अनुसार समितिमार्फत १३५ जना भक्तजनले दानदक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाइ वितरण गर्दछन् । पूजामा सामेल प्रत्येक कन्याको टाउकोमा शुद्ध तोरीको तेल खन्याएर देवीसरह रातो टिका लगाइदिने प्रचलन छ । पूजामा जिल्लाको मात्र नभई छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, भक्तपुर तथा काठमाडौँका कन्याको पनि सहभागिता रहने गर्दछ । यस अवसरमा बनेपालीका घरमा आफन्तको आउने जाने क्रम चलिरहन्छ ।

बनेपालीले विसं १९५९ देखि रजस्वला नभएका कन्याको पूजा गर्दै आएका हुन् । स्थानीय समाजसेवी लम्बोदर कायस्थले भन्नुभयो, “रजस्वला नभएका कन्याको पूजा गर्नाले उनीहरुमा सुख, शान्ति, समृद्धि छाउने जनविश्वास छ ।” जिल्लाका विभिन्न स्थानमा वर्षेनी १५ हजारभन्दा बढी कन्या पुजिन्छन् । बनेपाका भोछिभोया खलक चण्डेश्वरीका सन्तती मानिने भएकाले कुनै जाति या वर्गका आधारमा भेदभाव नराखी पूजा गरिन्छ । बनेपा–३ भोलाखाँटोलमा गणेश र कुमारको पूजा भएपछि मात्र कन्या पूजा शुरु हुने गर्दछ । स्थानीय इतिहासविद् ज्ञानकाजी मानन्धरका अनुसार कुनै समय बनेपाका एक नेवार समुदायका व्यक्तिले धेरै दुःख भएपछि घरको बुइगलमा राखेर आफ्ना घरका कन्यालाई पूजा गरेका थिए । सोही प्रचलनअनुरुप नेवार समुदायका रजस्वला नभएका कन्या मात्रै पुजिँदै आइए पनि केही वर्षदेखि नेवार समुदायका साथै विभिन्न जातजातिका कन्यासमेत पुजिँदै आएका छन् । विगत केही वर्षदेखि जिल्लाका अन्य स्थानमा पनि कन्या पूजाको आयोजना गर्दै आइएको छ । कृष्ण जन्माष्टमीका दिन बनेपा नगरका साथै जिल्लाका बुडोल, दोलालघाट, भैँसेपाटी, धनेश्वर, धुलिखेल, दाप्चा, साँगा र पनौतीमा पनि कन्या पूजाको आयोजना गरिन्छ । -न्युज२४नेपाल