खाजाले गर्दा विद्यार्थी नियमित

प्रकाशित मिति:

पाल्पा- आइतबार जाउलो, सोमबार खीर/अन्डा, भुजा, मंगलबार हलुवा, बुधबार अन्डा, चना, बिहीबार भुजा–दालमोट साथै फलफूल । यो हो, रम्भा मावि ताहुँका कक्षा १ देखि ५ कक्षासम्मका विद्यार्थीको खाजा तालिका । शुक्रबारबाहेक सातामा पाँच दिन विद्यालयमै खाजा बनाएर खुवाउने गर्छन् । सहायक प्रधानाध्यापक कमल बस्यालका अनुसार दैनिक फरक–फरक शिक्षकलाई खाजा व्यवस्थापनका लागि संयोजक तोकिएको छ । खाजाका लागि शिक्षक र कर्मचारीले सहयोग गर्छन् । ‘खाजा तयारी गर्न खासै समस्या छैन,’ शिक्षक शारदा श्रेष्ठले भनिन्, ‘कहिलेकाहीं खीर खुवाउन दूधको अभाव हुन्छ ।’ रम्भा गाउँपालिका–५, ताहुँस्थित रम्भा माध्यमिक विद्यालयमा गत वैशाखबाट सुरु दिवा खाजा कार्यक्रम यतिबेला प्रभावकारी बनेको छ । परीक्षणका रूपमा तीन महिनाका लागि सुरु गरेको दिवा खाजाले राम्रो प्रभाव देखिएको शिक्षक रजिता थापाले बताइन् । यसका लागि गाउँपालिकाले बजेट व्यवस्थापनमा सहयोग गरेको छ ।

रम्भा गाउँपालिकाको सहयोगमा विद्यार्थी खाजा कार्यक्रम सुरु गरेको विद्यालयले जनाएको छ । ‘हरेक बार फरक खाजा खुवाउँदा विद्यार्थीमा दिउँसो खाजा खाने समयमा घर जाने बानी हटेको छ,’ उनले भने, ‘सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको छ ।’बाल कक्षादेखि कक्षा ५ सम्म २९ बालबालिकाले दैनिक खाजा खान्छन् । सामुदायिक विद्यालयमा विद्यार्थी ल्याउन मुस्किल छ । ल्याए टिकाउन मुस्किल हुने शिक्षक बताउँछन् । बालबालिकाले पनि विद्यालयमा खाजा खान पाएपछि नियमित भएको बताए । अभिभावकले पनि छोराछोरीलाई ढुक्कसँग विद्यालय पठाउन थालेका छन् । दिउँसोको समयमा खाजा खाने व्यवस्था भएपछि बालबालिकालाई विद्यालय पठाउन कुनै समस्या नभएको अभिभावकको प्रतिक्रिया छ ।

आगामी वर्षमा पनि पोषणयुक्त खाजाको व्यवस्था मिलाउने गरी गाउँ कार्यपालिकामा छलफल चलिरहेको गाउँपालिकाकी उपाध्यक्ष राधाकुमारी श्रेष्ठले बताइन् । उनका अनुसार ताँहुको रम्भा मावि र जनता प्राविमा यसरी खाजा खुवाउने गरिएको छ । अन्य विद्यालयमा पनि यसरी विद्यालयमै खाजा खुवाउन निर्देशन दिएको उनले बताइन् । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार रम्भाका रम्भा माविबाहेक पनि ३५ विद्यालयमा यो कार्यक्रम लागू भएको छ । यसबाट १ हजार ८ सय ४४ विद्यार्थी लाभान्वित भएका छन् । दैनिक प्रतिविद्यार्थी १५ रुपैयाँ खाजा खर्चका लागि छुट्याइएको छ । ‘आवश्यक परेमा रकम थप गर्न पनि तयार छौं,’ उनले भने, ‘तर, खाजाको रकम सदुपयोग हुनुपर्छ । विद्यार्थीले नै खाजा खान पाउनुपर्छ ।’ -कान्तिपुर