कांग्रेस सांसद मुक्ताकुमारी यादवको प्रश्न- आत्महत्या गर्नेले आरोप लगाएकै भरमा कसैलाई थुन्न पाइन्छ ?

प्रकाशित मिति:

काठमाडौं – सञ्चारकर्मी रवि लामिछानेलाई बिना जाहेरी कार्यकक्षमै गएर प्रहरीले नियन्त्रणमा लिएको प्रसङ्ग राष्ट्रिय सभामा उठेको छ । कांग्रेस सांसद मुक्ताकुमारी यादवले बुधबार राष्ट्रियसभा बैठकमा आत्महत्या गर्ने व्यक्तिले आरोप लगाएकै भरमा कसैलाई थुन्न पाइन्छ कि पाइँदैन भनेर प्रश्न उठाएकी थिइन् । उनले दिनदिनै आत्महत्या गर्नेहरुको संख्या बढिरहँदा सरकार यसबारे गम्भीर नभएको समेत आरोप लगाइन् । उनले प्रश्न गरिन्, ‘आत्महत्याको कारण के हो, सरकारले पत्ता लगाउनु पर्छ कि पर्दैन ?’ उनले अन्तर्राष्ट्रिय मान्यता तथा नियमअनुसार कार्यक्रमको तयारीमा रहेका सञ्चारकर्मीलाई दवावमा आएर पक्राउ गरिएकोमा आशंका ब्यक्त गरिन् ।

सिंहदरवार परिसरभित्र रहेको राष्ट्रिय योजना आयोगको कार्यालयमा नायव सुब्बा बच्चुराम केसीले विषादी सेवन गरी आत्महत्या गरेको प्रसंग निकाल्दै उनले भनिन्, ‘दिनदिनै किन आत्महत्या भइरहेको छ, पत्ता लगाउने काम सरकारको हो कि होइन ?’ पत्रकार शालिकराम पुडासैनीको मृत्युका बारेमा समेत प्रश्न उठिरहेको भन्दै उनले पुडासैनीको हत्या हो या आत्महत्या भन्नेबारे सत्यतथ्य बाहिर ल्याउन मागसमेत गरिन् । उनले प्रश्न गरिन्, ‘कसैले आरोप लगाउँदैमा थुन्न पाइन्छ कि पाइँदैन ?’