एसइई सर्टिफिकेटमा अभिभावक लुट्दै निजी विद्यालय

प्रकाशित मिति:

काठमाडौं  – एसइईको सर्टिफिकेट पाउन विद्यार्थीले दुई सय ५० तिर्नुपर्छ । तर, निजी विद्यालयले विद्यार्थीसँग पाँच हजार रुपैयाँसम्म असुल्न थालेका छन् । काठमाडौंको बालुवाटार मोडेल स्कुलले एसइईको सर्टिफिकेट शुल्क पाँच हजार मागेपछि अभिभावक आक्रोशित भएका छन् । छोराको एसइई परीक्षाको सर्टिफिकेट लिन बुधबार विद्यालय गएका राजनकुमार भट्टाचार्यले भने, ‘एकाउन्टमा गएको पाँच हजार मागेपछि शुल्क धेरै महँगो भयो भनेको थिएँ जे सक्छस् गर, पाँच हजार नभएसम्म दिन्नौँ भने, म त्यसै फर्किएँ ।’

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालयले एसइईको सर्टिफिकेटको राजस्व दुई सय ५० रुपैयाँ तोकेको छ । तर, निजी विद्यालयले धेरै असुल्ने गुनासो आउने गरेको परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए । १० वर्ष शुल्क लिएर अन्तिममा पनि ढाड सेक्न खोज्नु लज्जास्पद भएको अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले बताए ।

बालुवाटर मोडेल स्कुलका प्रिन्सिपल विष्णु पाण्डेले भने मर्मत र निर्माण खर्च भनेर विद्यार्थीसँग चारपाँच हजार मागिएको तर्क गरे । तर, शिक्षा विकास तथा समन्वय एकाइ काठमाडौंका प्रमुख नन्दलाल पौडेलले विद्यार्थीबाट यस्तो शुल्क लिनै नमिल्ने बताए । ‘जुन विद्यार्थी विद्यालयबाटै बाहिरिएको छ, ऊबाट निर्माण खर्च लिनु लज्जास्पद हो,’ उनले भने । – यो खबर नयापत्रीकामा प्रकाशित छ् ।