नेकपा प्रमुख सचेतकको घरमा विष्फोट गराएको आरोपमा विप्लवका तीन नेता पक्राउ

प्रकाशित मिति:

सबलपोस्ट- बुटवल /नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश ५ प्रदेश सभाका प्रमुख सचेतक भूमिश्वर ढकालको घर र गाडीमा बम विष्फोट गराएको अभियोगमा विप्लव नेतृत्वको नेकपाका तीनजना नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका ११का पार्टीका जिल्ला सदस्य एवं जिल्ला जनसरकार उपप्रमुख ५० बर्षका बिक्रम यादव, रुपन्देहीको गैडहवा गा.पा.६का ४३ बर्षका पार्टीका प्रादेशिक जनसरकार सदस्य रुदल यादव र सियारी गाउपालिका ४का ६३ वर्षिय विष्णुप्रसाद तिवारी (मुकेश) रहेका छन् । गत साउन ३१ गते रातिको समयमा रुपन्देही सैनामैना नगरपालिका ८ शान्ति टोल बस्ने ५ नं. प्रदेशका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ५ नं. प्रदेशका प्रमुख सचेतक ढकालको घरमा विष्फोट र आगजनी भएको थियो ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि रुपन्देही गैडहवा गाउपालिका २ सानो धुपहीस्थित एनसेल टावरमा साउन १५ गते आगजनी र बम विष्फोटमा समेत संलग्न रहेको अभियोगमा मुद्धा दर्ता भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।