भ्रष्ट्रचार मुक्त समाज निर्माण गर्न भन्दै खोटाङबाट साईकल यात्रा

प्रकाशित मिति:

रमेश विश्वकर्मा – गुल्मी, भदौ ७ रखोटाङ जिल्लाका एक साईकल यात्री गुल्मी आएका छन् । खोटाङ जिल्ला मजुवागढी नगरपालिका ४ का कर्ण श्रेष्ठ अहिले देशका ७७ वटै जिल्लामा साइकलबाट यात्रा गरिरहेका छन् । गुल्मी आएका श्रेष्ठ २०७५ चैत्र ३ गते देखि आफ्नै गृह जिल्लाबाट साईकल यात्राको सुरु गरेका थिए । उनले अहिलेसम्म गुल्मी सहित ४६ वटा जिल्लामा साईकल यात्रा गरेका छन् । श्रेष्ठले स्नातक तहसम्म अध्ययन गरेका छन् । श्रेष्ठ खोटाङ जिल्लामा रहेर व्यापार गर्दै आएका थिए । प्रदेश नं। ५ को पाल्पा र गुल्मी दुईवटा जिल्लामा साईकल यात्रा गरेको श्रेष्ठ बताउँछन् । सबैभन्दा पहिले पहाडी जिल्लाको यात्रा सक्ने र तराईका अन्य जिल्लाहरुको यात्रा गर्ने श्रेष्ठले बताए । शनिबार सञ्चारकर्मीसंग कुरा गर्दै श्रेष्ठले समाजको बेथिति देखेर, जनता जगाउनको लागि, समाजलाई बेथिति मुक्त बनाउनको लागि सम्पूर्ण जनतामाझ जनचेतना फैलाउनको लागि आफु साईकल यात्रामा लागेको बताए । साईकल यात्री श्रेष्ठले भने–‘भष्ट्राचार मुक्त समाजको निर्माण गरौं, धार्मिक तथा पर्यटनको प्रवद्र्धन गरौं भन्ने मुख्य नाराका साथ आफु देशका सबै जिल्लामा साईकल यात्रा गरेको हुँ ।’ उनले अहिले सम्म यात्रा गरेका जिल्लाहरुमा बाटोहरु त्यति राम्रो भएको नदेखिएको जानकारी दिए । नयाँ बनाएको बाटो एक महिना नपुग्दै भत्किने गरेको बताउछन । साना बच्चाहरुलाई पढाउनको लागि पनि त्यति गुणस्तर विद्यालयहरु नदेखिएको बताउँदै उनले भने–‘हाम्रो देश नेपालमा निम्नस्तर भएका व्यक्तिहरुलाई मात्र लागु हुने, विशिष्ट व्यक्तिहरुलाई नलाग्ने गर्दछ ।’ मैले जनचेतना जगाउन यो यात्रा गरेको हुँ ।

सबै जिल्लाका पत्रकार महासंघ, उद्योग वाणिज्य संघ, स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, विद्यालय क्याम्पस सबैसँग भेट हुँदै यहाँसम्म आएको बताउँदै सुझाब समेत संकलन गर्दै पुर्व मेचि देखि पश्चिम महाकालीसम्मको यो यात्रा तय गरेको बताए । हाम्रो देश नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण देश पनि हो, तर यो प्राकृतिक सम्पदाको सहि सदुपयोग नभएको सबै विदेशबाट आयत गर्ने निर्यात चाँही नगर्ने श्रेष्ठले बताए ।नेपाल एउटा कृषि प्रदान देश हो तर हामीले दैनिकी रुपमा खाद्य सामाग्रीहरु विदेशबाट किनेर उपभोग गरिरहेका छौं भन्दै तराई उर्बरा भूमिहरु बाँझिएको बताए । ६ हजार भन्दा बढि खोलानालाहरु खेर गईरहेको छ, त्यसलाई सदुपयोग गरेर कृषि हलो जोतेर होइन कृषकहरुले औद्योगिककरण गरेर कृषि गर्नुपर्छ भन्दै नेपाल सरकारले कृषकको हक अधिकार सुनिश्चित गनुपर्छ, कृषकको लागि इन्स्योरेन्सको व्यवस्था गर्नुपर्छ उनले भने–‘मन्त्रालयमा कृषकको नाममा सरकारले बजेट छुट्एको हुन्छ तर सम्बन्धित कृषकको हातसम्म त्यो बजेट पुगेको छैन ।’ समृद्ध समाज बनाउनको लागि स्थानीय स्रोत साधनलाई सहि सदुपयोग गर्ने र शिक्षामा परिवर्तन गर्नुपर्ने उनले भने–‘व्यवहारिक शिक्षा, समतामूलक शिक्षा सिपमूलक शिक्षा भयो भने मात्र नेपालमा समृद्ध समाज बन्न सक्छ ।

‘जलस्रोतको हिसाबले नेपाल विश्वको दोस्रो धनि देश हो । ८३ हजार मेगावाट विद्युत उत्पादन गर्न सक्ने क्षमता नेपालको छ तर यसलाई प्रशोधन गर्ने दक्षजनशक्ती उत्पादन गर्ने शिक्षाको आवश्यकता छ । नेपाल एउटा कृषि प्रदान देश मात्र नभएर सबैथोकले भरिपूर्ण देश श्रेष्ठ भन्छन’–नेपालमा हामीलाई चाहिने सबै पाईन्छ, हाम्रो देशमा भएका लाखौं प्रकारका जडिबुटीहरु खेर गएको छ त्यसैलाई प्रशोधन गर्ने खालको शिक्षाको आवश्यकता भएको बताउँदै सबै जिल्लाका सरकारी विद्यालयमा शिक्षालाई व्यवहारिक बनाउँदा समाजलाई पुर्नसंरचना गर्न सकिन्छ उनले भने–‘देश विकासको लागि एउटा नेतालाई मात्र जिम्मा दिएर नहुने यसमा सम्पूर्ण जनता एकजुट भएमा मात्र सम्भव हुने । साईकल यात्रा गर्दा सुरुमा आफ्नै घरबाट खर्च गर्दै आएको र अन्यत्र बाहिरी जिल्लाहरुमा जाँदा स्थानीय सरकारले खाने बस्ने व्यवस्था मिलाई दिएको बताउँदै आफु खोटाङ जिल्लाको उद्योग वाणिज्य संघको सदस्य भएको हुनाले अधिकत्तम जिल्लामा उद्योग वणिज्य संघले पनि खाने बस्ने व्यवस्था मिलाई दिएको उनले बताए ।