गुल्मी चारपालाको तीज मिलन सम्पन्न

प्रकाशित मिति:

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको आयोजनामा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । योगिकुटी स्थित बुटवल पब्लिक स्कूलको प्रांगणमा भएको कार्यक्रमका प्रमुख अतिथी ज्येष्ठ महिला तथा समाजसेवी दुर्गा कार्कीले समाजले आफूप्रति गरेको सम्मानको प्रशंसा गर्दै तीजको शुभकामना व्यक्त गर्नुभएको थियो । त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथी बुटवल पब्लिक स्कूलका अध्यक्ष तथा समाजका आजीवन सदस्य तथा सल्लाहकार हेमलाल शर्मा भुषालले तीज पर्वले गाउंघरका छिमेकी तथा आफन्तलाई जमघट गराएकामा खुसी व्यक्त गर्दै हरितालीका तीजले दिदीबहिनीलाई अझ निडर र आत्मविश्वासी भई अघि बढ्ने साहस मिलोस् भनी शुभकामना व्यक्त गर्नुभयो । अर्का विशिष्ठ अतिथी समाजका सल्लाहकार तथा आजीवन सदस्य धनेन्द्र कार्कीले संस्था गठन भएपछि चाडपर्वका बेला भेटघाट र शुभकामना आदानप्रदान गर्न सजिलो भएको बताउनुभयो । सोही अवसरमा गुल्मी दरबार गाउंपालीकाका कार्यपालिका सदस्य तुलसादेबी अर्यालले गाउंबाट टाढा बसेपनि समाज गठन गरेर चारपालाका नागरिक एक भएकोप्रति खुसी व्यक्त गर्दै एक भएर अघि बढ्न र बेलाबेलामा जमघट हुने खालका कार्यक्रम गरिरहन आग्रह गर्नुभयो ।


चारपाला घर भई हाल रुपन्देहीमा बस्दै आएका ७ सय गुल्मेलीको सहभागिता रहेको कार्यक्रममा लोक तथा दोहोरी गायीका सपना गाहा, लक्ष्मी बस्नेत, समिक्षा बिसी, नारायण विपी परियार लगायतले प्रस्तुती दिएका थिए । समाजका अध्यक्ष हुमनाथ ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन उपाध्यक्ष तथा तीज मिलन कार्यक्रमका संयोजक उषा खत्री र सचिब विकास टण्डनले गर्नुभएको थियो । कार्यक्रममा सदस्य सबिना टण्डनले स्वागत गर्नुभएको थियो ।