तिनाउ मिसन बैंकको एकिकृत कारोबार विधिवत रुपमै सुरु, राष्ट्रिय स्तरको लक्ष्यमा पाईला

प्रकाशित मिति:

बुटवल –असार ३१ गते रुपन्देहीको बुटवलमा अवस्थित तीन जिल्ला कार्यक्षेत्र भएको मिसन डेभलपमेण्ट बैंक र तिनाउ विकास बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकको रुपमा एकिकृत कारोबार गरेतापनि विधिवत रुपमा उद्घाटन भने ८ गते आईतबार गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जिवी नेपालको प्रमुख आथिथ्यता र बैंकका सञ्चालक समीति अध्यक्ष टिकाराम घिमिरेको अध्यक्षतामा सम्पन्न गरेको छ । सोही अवसरमा बुटवल–४ पाल्पारोडमा अवस्थित बैंकको नवनिर्मित भवन पनि उद्घाटन गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठको सञ्चालनमा भएको उद्घाटन समारोहमा बोल्दै गभर्नर चिरञ्जिवी नेपालले बैंक तथा वित्तीय संस्थाहरु विकास निर्माणका सम्भावक भएकोले उत्पादन बढाउने क्षेत्रहरुमा लगानी बढाउनु पर्नेमा जोड दिए ।

नेपालले आफू सँग भएको पैसाको उपयोग पनि नगर्ने र काम पनि नगर्ने परिपाटीको विकास भएकोमा दुःख व्यक्त गर्दै लगानीलाई जतिधेरै परिचालन ग¥यो उति धेरै प्रतिफल प्राप्त हुने हुँदा पैसालाई निष्कृय रुपमा राख्न नहुने बताए । खाडी राष्ट्र कतारले नाकाबन्दीबाट बच्न गरेको आत्मनिर्भरताको कार्यप्रति प्रशंसा गर्दै गर्भनर नेपालले भने, हामी कतारबाट शिक्षा लिनु पर्छ । हामीकहाँ पनि नाकाबन्दी भएको थियो खै हामीले आत्मनिर्भरता बन्ने तर्फ केन्द्रित भएको । उत्पादनमा हामी ठुला ठुला गफ गर्छौं तर व्यवहारमा ल्याउन नसक्दा समस्या देखिएको छ । जब सम्म औद्योगिक विकास र उत्पादनमा बृद्धि गरेर आयातलाई प्रतिस्थापन गर्न सकिंदैन तब सम्म मुलुकले आर्थिक समृद्धि गर्न सक्दैन ।

प्रस्ताव पेश गरेको अति छोटो समयमै मर्जर हुन सक्नु वित्तीय क्षेत्रमै खुशीको कुरा रहेको बताउँदै नेपालले बैंकका सञ्चालक तथा कर्मचारीहरुको स्वच्छ आचरण र केही गर्नुपर्छ भन्ने धारणा रहेको बताए । उनले राष्ट्रिय स्तरको विकास बैंक बन्ने लक्ष्यमा रहेको तिनाउ मिसन बैंकलाई राष्ट्रिय स्तरको विकास बैंकको रुपमा देख्ने चाहना आफ्नो पनि भएको बताउँदै त्यसका लागि आफूले पूर्ण रुपमा सहयोग गर्नेबताए । त्यसैगरी प्रदेश न.५ का योजना आयोग उपाध्यक्ष डा. ईश्वर गौतमले बैंक तथा वित्तीय संस्थाहरु विकास निर्माणमा खम्बाको रुपमा रहेको धारणा राख्दै तिनाउ मिसन डेभलपमेण्ट बैंक पनि एउटा खम्बा भएको बताए ।

उनले बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको अस्वथ्य प्रतिस्पर्धाले संस्थागत हित विपरित काम हुने बताउँदै नेपाल राष्ट्र बैंकले अगडी सारेको मर्जरको अवधारणाले स्वस्थ्य प्रतिपर्धाको विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । गौतमले तीन जिल्ला कार्यक्षेत्रका बैंकहरु एक आपसमा मिलेर राष्ट्रिय स्तरको विकास बैंक बन्ने चाहनालाई प्रशंसा गर्दै अग्रिम शुभकामना दिए । संस्थाका अध्यक्ष टिकाराम घिमिरेको स्वागत मन्तव्य सँगै सुरु भएको भवन समुद्घाटन तथा मर्जरको विधिवत शुभारम्भ समारोहमा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका निर्देशक राजेन्द्र भट्टराई, बैंकका संस्थापक तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरे लगायतको शुभकामना मन्तव्य रहेको समारोहमा सञ्चालक जिवन प्रसाद वझाले धन्यवाद सहितकार्यक्रमको समापन गरेका थिए ।

अधिकृत पूँजी रु.तीन अर्ब, जारी पूँजी रु.एक अर्ब १४ करोड ४१ लाख र चुक्ता पूँजी पनि रु एक अर्ब १४ करोड ४१ लाख रहेको बैंकको जगेडा तथा अन्य कोषहरु रु.२६ करोड छ लाख, निक्षेप संकलन रु.१० अर्ब २० करोड, कर्जा प्रवाह रु.आठ अर्ब ९२ करोड, संचालन मुनाफा रु.१९ करोड ७६ लाख र खूद मुनाफा रु.१२ करोड ५६ लाख रहेको छ । ३९ वटा शाखा सञ्जाल मार्फत करिब एक लाख सेवाग्राहीले सेवा लिईरहेको बैंकको बुटवलमै प्रधान कार्यालय रहेको नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंक सँगको एक्विजिशन प्रक्रिया अगाडी बढिसकेकोले बैंक थप मजवुत भई राष्ट्रिय स्तरको बैंकको रुपमा छिट्टै स्थापित गर्न सक्ने देखिन्छ ।