यो सरकार अकर्मण्य हो, कुनै आश नगरे हुन्छ : मिश्र

८ भाद्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
25 Shares


बुटवल –साझा पार्टीका संयोजक रविन्द्र मिश्रले २०४६ सालयता सरकारको नेतृत्वमा पुगेका सबै दलका शीर्ष नेता र उच्च तहका कर्मचारीहरुको सम्पत्ति छानीवन हुनुपर्ने बताएका छन् । उनले भ्रष्टाचारको जड शीर्ष नेता र उच्च तहका कर्मचारी नै भएकाले सम्पत्ति छानवीन गर्नुपर्नेमा जोड दिए । आइतबार बुटवलमा पत्रकारहरुसंग कुरा गर्दै संयोजक मिश्रले राजनीतिक दलका भातृ संगठनहरु पनि भंग गर्नुपर्ने धारणा राखे । ‘भ्रष्टाचार रोक्न २०४६ सालयता राजनीतक र प्रशासनिक नेतृत्वमा पुगेका सबैको सम्पत्ति छानवीन र पार्टीका भातृ संगठन भंग गर्नुपर्छ’–मिश्रले भने–‘हाम्रो पार्टी सरकारको नेतृत्वमा पुग्यो भने पहिलो क्याबिनेटबाट यी दुई निर्णय गर्छौं,संगसंगै शिक्षा,स्वास्थ्य,सार्वजनिक यातायात राज्यको दायित्वभित्र पार्छौं ।

’ पुराना राजनीतिक दलहरुले आम जनता,कर्मचारीलाई अपहरण र मायाजालमा फसाएजस्तै दलको छाता नओढी नहुने स्थितिमा पुयाएको उल्लेख गर्दै मिश्रले यसबाट मुक्त नभएसम्म सुशासन र समृद्धि नआउने ठोकुवा गरे । ‘पुराना दलहरुले हरेक नागरिकलाई स्वतन्त्र रहन नदिई दलको छाता ओढ्नैपर्ने संस्कार सिकाएका छन्’–उनले भने–‘जनताले विकल्प नदेखेर वाध्यतावश दलको छाता ओढेका हुन् अब स्वतन्त्र भएर सोच्न र निर्णय गर्न सक्नुुपर्छ, दलको मायाजालबाट मुक्त हुनुपर्छ ।’ नागरिक समृद्ध र पेशागत सुरक्षा हुने हो भने कुनै दलको छाता ओढेर हिंड्न जरुरी नहुने उनले औंल्याए ।

पत्रकारहरुको प्रश्नमा संयोजक मिश्रले गणतन्त्र,संघीयता र धर्मनिरपेक्षता खतरामा प¥यो भन्नु सरकार र दलहरुले आफ्नो अकर्मण्यता र कमजोरी ढाकछोप गर्ने बहानाबाजी मात्रै भएको बताए । ‘गणतन्त्र वा पछि अरु केही खतरामा पर्छ भने जनताको कारण होइन,यिनै ठूला भनिएका दलकै कारण पर्ने हो’–मिश्रले भने–‘नागरिकमा भय सिर्जना गरेर,ध्यान अन्तै मोडेर आफू सुरक्षित हुने उपाय मात्रै हो ।’ आफूले गणतन्त्र,संघीयता र धर्म निरपेक्षताका विषयमा जनमत संग्रह गर्नुपर्छ नभनेको तर मिडियाले यही आशयमा आफ्नो भनाई छापेको भन्दै उनले संविधान भन्दा बाहिर गएर कुनै निर्णय गर्ने पक्षमा साझा पार्टी नरहेको स्पष्ट पारे । ‘गणतन्त्र,संघीयता र धर्म निरपेक्षता संकटमा प¥यो भने संरक्षणका लागि साझा पार्टी नै सबैभन्दा अगाडि आउंछ,यो कुरा लेखेर राख्नोस्’–संयोजक मिश्रले भने । जनतामा दुई तिहाई वहुमतको बलियो सरकारको महसुसै नभएको बरु जनतामा करको भार थोपर्ने र आफूहरु जनताको पैसामा विदेश शयर र मोजमस्तीमा तल्लीन रहेको आरोप लगाए । सरकारलाई अकर्मण्य भन्दै यो सरकारबाट सुशासन र समृद्धिको आशा गर्न नसकिने मिश्रको ठम्याई छ । ‘सरकारको अकर्मण्यता सुध्रिनेवाला छैन’–उनले भने ।

देश दशकौंदेखि घिस्रंदै आएको उल्लेख गर्दै मिश्रले जनताले आफ्नो मन र मत परिवर्तन नगर्ने हो भने अझै दशकौंसम्म देशको अवस्था यस्तै रहने तर्क गरे । सरकार प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यका साथ प्रेसमाथि दुर्नियत राखेको र अनुदार लोकतन्त्रको पक्षपोषण गरेको आरोप लगाए । रवि लामछिानेको पक्षमा भएको प्रदर्शन जनतामा सरकार र राजयका निकायप्रति बढेको अविश्वासको प्रतिफल भएको मिश्रले अथ्र्याए । ‘अहिलेको सरकारबाट कानूनी शासन हुन्छ भन्ने जनताको विश्वास नभएर सडकमा धेरै मान्छे उत्रिए’–मिश्रले भने–‘तर निश्पक्ष छानवीन भई निर्दोषले उन्मुक्ति र दोषीले सजाय पाउनुपर्छ,भीडले न्याय दिने होइन ।’ सरकारले कसैमाथि प्रतिशोध लिन नहुने मिश्रले आग्रह गरे । १५ देखि ३० वर्ष उमेर समूहको दुई तिहाई जनसंख्या र विदेशमा रहेका ५० लाख नेपालीको आशा साझा पार्टीमा रहेको दावी गर्दै मिश्रले यिनैको भरमा आउंदो चुनावमा पार्टी अगाडि आउने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया