मौलिक हक विपरीत चितवनमा निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला हुन नपाइने

प्रकाशित मिति:

चितवन-जिल्ला प्रशासन कार्यालय चितवनले मौलिक हक विपरित निषेधाज्ञा जारी गरेको छ । संविधानमा भएको मौलिक हक अन्तरर्गत धारा १७ मा स्वतन्त्रताको हक छ, जसमा विचार र अभिव्यक्ति, विना हातहतियार शान्तिपूर्वक भेला र प्रदर्शन गर्ने अधिकार दिएको छ ।तर जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार राति जारी गरेको एक आदेशमा सोमबार बिहान ६ बजेदेखि लागू हुने गरी जारी गरेको आदेशमा पाँचजनाभन्दा बढी भेला नहुन आदेश दिइएको छ ।

सोमबार बिहानदेखि लागू हुनेगरी सुरक्षाव्यवस्था थप कडा पारेको छ । चितवन जिल्ला सुरक्षा समितिले आइतबार राति एक आदेश जारी गर्दै सोबार बिहान ६ बजेदेखि लागू हुने गरी सुरक्षाव्यवस्था थप कडा पारेको जानकारी दिएको छ ।आइतबार जारी गरेको आदेशमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ९३० ‘क’को प्रयोग गर्दै सोमबार बिहान ६ बजेदेखी अनिश्चित कालका लागि चार किल्ला तोकेर प्रदर्शन गर्न र पाँचजनाभन्दा बढी भेला नहुन आदेश जारी गरेको छ । उक्त दफामा कसैलाई कुनै काम गर्न दिनबाट निषेध गर्ने भनिएर उल्लेख गरिएको छ ।

तोकिएको क्षेत्रमा प्रदर्शन, हुलदंगा र अशान्ति पैदा गर्न खोजे कानुनी कारबाही हुने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतद्वारा जारी आदेशमा उल्लेख छ ।पत्रकार शालिकराम पुडासैनी प्रकरणका अभियुक्त रवि लामिछाने र युवराज कँडेलको बयान आज हुँदैछ । उक्त प्रकरणकी अभियुक्त रुकु भनिने अस्मिता कार्कीको बयान आइतबार नै सकिएको छ ।पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकहरूले दिनहु प्रदर्शन गर्दै आएको छ । थुनछेक बहस पनि आजै हुने सम्भावना रहेको र त्यसपछि आदेश आउने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको हो ।

सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको निःशर्त रिहाइको माग गर्दै देशभर प्रदर्शन भइरहेको छ । सञ्चारकर्मी लामिछाने र कँडेललाई गैह्रकानूनी ढंगबाट प्रहरी हिरासतमा लिइएको विरोधमा आइतबार पनि मुलुकका विभिन्न ठाउँमा स्वस्फूर्त रुपमा स्थानीयले र्‍याली र कोणसभा भएको थियो।आइतबार भएको प्रदर्शनमा प्रहरीले डेट एक्स्पायर अश्रु ग्यास समेत प्रहार गरेको थियो ।