चितवन अपडेट : सञ्चारकर्मी लामिछाने र कँडेलकाे बयान लिइँदै, निषेधित क्षेत्रमा माइकिङ

प्रकाशित मिति:

चितवन – शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका आरोप लागेका संचारकर्मी रवि लामिछाने र युवराज कँडेललाई बयानका लागि जिल्ला अदालतमा उपस्थित गराइएकाे छ । अदालतले आज उनीहरुकाे बयान लिँदैछ । तीन जना प्रतिवादीमध्ये अस्मिता कार्कीको आइतबार नै बयान लिइसकिएको छ । लामिछाने र कँडेलको आज बयान सकिएपछि अदालतमा वादी र प्रतिवादीका वकिलहरुले बहस गर्नेछन्  थुनछेक बहसपछि अदालतले उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्नेछ । तिनैजना विरुद्ध आइतबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको थियो ।

रवि लामिछाने निर्दोष रहेको दाबीसहित फसाउन खोजिएको भन्दै उनका समर्थकहरुले चितवनमा दिनदिनै प्रदर्शन गरिरहेका छन् । प्रदर्शन चर्कर्दै गएपछि स्थानीय प्रशासनले अर्को आदेश नभएसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण प्रदर्शनमा उत्रेका छैनन् । प्रहरीले बजार क्षेत्रमा सुरक्षा तैनाथी बढाएको छ । भरतपुरसहित आसपासका क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार बिहान ६ बजेदेखि नै लागू हुने गरी भरतपुर महानगरपालिकाका विभिन्न स्थानमा प्रदर्शन गर्न निषेध गरेको छ । निषेधाज्ञाबारे प्रहरीले बजार क्षेत्रमा माइकिङ गरिरहेको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ क बमोजिम सोमबार बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि एकै ठाउँमा ५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी प्रशासनले आदेश जारी गरेको हो । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र रुकु कार्की विरुद्ध जिल्ला अदालत चितवनमा आइतबार मुद्दा दर्ता भएको थियो । जिल्ला सरकारी वकिल कार्यालय चितवनले उनीहरू विरुद्ध मुद्दा दर्ता गराएको हो ।