अस्ट्रेलियाको सपना देखाएर इन्डोनेसियामा बन्धक

प्रकाशित मिति:

काठमाडौं– अस्ट्रेलिया लैजाने भनेर विभिन्न प्रलोभन देखाई इन्डोनेसियामा पुर्‍याएर अलपत्र पार्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको पठानकोट गर्दासपुर शंकेनगर पञ्जाब घर भई इन्डोनेसियाको जाकर्ता बस्ने ३० वर्षीय परषोत्तम लाल, दोलखाको गैरीमुदी गाउँपालिका–१ घर भएका ३० वर्षीय शशि लामा भनिने शशिकुमार तामाङ, म्याग्दीको बेनी नगरपालिका–९ घर भएका ३० वर्षीय डोलेन्द्र कार्की, पर्वको कुश्मा नगरपालिका–३ का २७ वर्षीय शिव शर्मा, काभ्रेको चौरीदेउराली गाउँपालिका–९ की २२ वर्षीया अस्मिरा चौलागाई र काभ्रेको पनौती नगरपालिका–४ २८ वर्षीय अर्जुन कार्की छन्।

उनीहरुलाई मानव बेचबिखन नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो भारतीय नागरिक लाल, शिव र अस्मिरालाई त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ। शशिलाई ठमेलबाट, अर्जुनलाई बबरमहल र डोलेन्द्रलाई माइतीघरबाट पक्राउ गरिएको हो। पक्राउ परेका भारतीय नागरिक लालकै योजनामा उनीहरु इन्डोनेसियामा बन्धक भएको हुन सक्ने प्रहरीले जनाएको छ। उनीहरुले संगठित रुपमा विभिन्न प्रलोभन देखाएर आकर्षक रोजगारी र अध्ययन हुने भन्दै गाउँका युवायुवती काठमाडौं ल्याएर ठग्ने गरेको पाइएको छ। साथै जर्नी टु अस्ट्रेलिया नामको फेसबुक वेबपेज आइडीसमेत बनाएर त्यसमार्फत म्यासेज गरी पीडितहरुसँग उनीहरुले कुराकानी गर्ने गरेका थिए। यसरी युवायुवतीसँग कुराकानी गरिसकेपछि भिसा अप्लाईको लागि भन्दै १५ देखि २० लाख रुपैयाँसम्म प्रतिव्यक्ति असुलेको अनुसन्धानबाट खुलेको छ। उनीहरुले सबैबाट करिब १ करोडभन्दा बढी उठाएका थिए। त्यसपछि उनीहरुले काठमाडौंबाट मलेसिया हुँदै इन्डोनेसियामा पुर्‍याएका थिए। इन्डोनेसिया पुगेपछि भने पीडितका राहदानी, नगद, भिसा लगायतका सबै कागजात नियन्त्रणमा लिएर उनीहरुलाई बन्धक बनाएको ब्युरोका प्रवक्ता गोविन्द थपलियाले बताए।

इन्डोनेसियामा भारतीय नागरिकको मिलमतोमा अपार्टमेन्ट भाडामा लिएर उनीहरुले बन्धक बनाउने, कुटपिट गर्ने राम्रोसँग खान नदिने जस्ता, शारीरिक मानसिक पीडा दिने, शोषण गर्ने गरेको पीडितले बताएका छन्। यसरी मानव बेचबिखन भइरहेको भन्ने सूचना प्राप्त भएपछि ब्युरोको टोलीले पीडितको उद्धार गरेको थियो। पीडितहरु नेपाल फर्किएर आएपछि उनीहरुकै उजुरी र सूचनाका आधारमा प्रहरीले ६ जनालाई विभिन्न मितिमा पक्राउ गरेको हो। उक्त मानव बेचबिखन कार्यमा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने ब्युरोले जनाएको छ । उनीहरुमाथि अनुसन्धान भइरहे पनि पक्राउ पर्न सकेका छैनन्। मानव बेचबिखन आरोपमा पक्राउ परेका उनीहरुविरुद्ध प्रहरीले मानव बेचबिखन तथा ओसारपसार कसुरमा अनुसन्धान सुरु गरको छ। -नेपाललाइभ