नेविसंघ नेता हृदय उपाध्याय रिहा

प्रकाशित मिति:

धनगढी – प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमा गाली गरेको आरोपमा पक्राउ परेका हृदय उपाध्यायलाई प्रहरीले रिहा गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र उसको भ्रातृ संगठन नेविसंघले आन्दोलनको चेतावनी दिइरहकै बेला प्रहरीले सोमबार बिहान रिहा गरेको हो ।

सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीलाई गालीगलौज गरेको आरोपमा पक्राउ परेका उपाध्यायलाई आगामी दिनमा गल्ती नदोहोर्याउने कागज गराएर रिहा गरिएको कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले बताएका छन् । २६ वर्षीय उपाध्यायलाई इलाका प्रहरी कार्यालय लम्कीले अपराध महाशाखा टेकुले साइबर अपराधले पक्राउ गर्न दिएको आदेशका आधारमा आइतबार नियन्त्रणमा लिएको थियो । उपाध्यायको फेसबुक वालमा सरकाविरुद्धका थुप्रै टिप्पणीहरु देखिन्छन् । उनले केही दिनअघि ‘केपी ओलीको मिर्गाैलाले राम्ररी काम गर्न छाड्यो, अब के हुन्छ ?’ शीर्षकमा प्रकाशित एक अनलाइनको समाचार सेयर गर्दै प्रधानमन्त्रीका बारेमा भद्दा टिप्पणी गरेका थिए । उनको पक्राउको विरोधमा कांग्रेस लम्कीचुहा नगर कार्यसमिति, कांग्रेस कैलाली क्षेत्र नम्बर २ र नेपाल विद्यार्थी संघले छुट्टाछुट्टै विज्ञप्ति जारी विनाशर्त रिहाइको माग गरेका थिए ।