चितवन पुगेर मह जोडीले भने- ‘आत्महत्या दुरुत्साहन ऐन संशोधन हुनुपर्छ’

प्रकाशित मिति:

सञ्चारकर्मी रवि लामिछाने तथा युवराज कँडेलको न्यायको पक्षमा साथ दिन हाँस्यकलाकार द्वय हरिबंश आचार्य तथा मदनकृष्ण चितवन पुगेका छन् । सोमवार अपरान्ह चितवन पुगेका मह जोडीले जिल्ला अदालत परिसरमा रवि लामिछाने,दीपक बोहरा तथा युवराज कँडेलसँग भेट गरी न्यायको लडाइँंमा कत्ति पनि कमजोर नहुन ढाडस दिए । जिल्ला अदालत श्रेष्तेदारको कक्षमा भएको भेटमा मह जोडीले आत्महत्या दुरुत्साहनको ऐन संशोधन हुनुपर्ने समेत माग गरे ।

पत्रकारसँग बाेल्ने क्रममा हरिबंशले भने – ‘सिंहदरवार भित्र कसैले काेटको खल्तीमा ठूलो मान्छेको नाम लिएर आत्महत्या गरे त्यो ठूलो मान्छेलाई समाउने कि नसमाउने ? त्यसैले यो ऐन संशोधन हुनुपर्छ ।’ यसैबीच जिल्ला अदालत चितवनमा युवराज कँडेल र रवि लामिछानेको बयान सकिएकाे छ । बयान सकिए लगत्तै अदालतमा वादी र प्रतिवादीका वकिलहरुकाे बहस भइरहेकाे छ । थुनछेक बहसपछि अदालतले उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्नेछ।